देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम १ डिग्री, हुम्लामा माइनस १३



काठमाडौं : आज देशका मध्य र पुर्वी पहाडी भुभागहरुमा आंसिक बदली रहने सम्भावना छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । देशको मध्य र पुर्वी उच्च हिमाली भेगका १–२ स्थानमा हल्का हिमपात हुने संभावना रहेको छ ।

शुक्रबार  बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार बिहान  यहाँको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।

यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । 

हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

जुम्लाको तापक्रम भने बढेको छ । बिहीबार जुम्लाको तापक्रम माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ । बुधबार भने जुम्लाको तापक्रम माइनस ८ डिग्री पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्