प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो : देउवा



काठमाडौं : चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् । देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् ।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने । 

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे । ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् ? कहाँ छ त्यो राष्ट्रवाद अहिले ? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने ।

ओलीको राष्ट्रवाद अब जनताले नपत्याउने देउवाले बताए । भारतले भूमि मिच्दा सरकार कानमा तेल हालेर बसेको उनले बताए । ‘कालापानी नेपालको होइन ? लिपुलेक नेपालको होइन ? आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनु हुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन्’ उनले भने । सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी देउवाको छ । 

आफू प्रधानमन्त्री भएका वेला महाकाली सन्धि भएको र सन्धीले महाकालीलाई सीमा नदी मानेको दाबी गरे । ‘म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो । महाकाली सन्धीमा महाकाली नदीलाई सीमा नदी भनिएको छ, पानी आधा–आधा,’ उनले भने । हो, महाकाली सन्धि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै वेला ०५२ सालमा भएको हो तर, सन्धीले महाकालीलाई सीमा नदी होइन, ‘अधिकांश भागमा सीमा नदी’ भनिएको छ । महाकाली केही ठाउँमा नेपालभित्र, केही ठाउँमा भारतभित्र पर्छ र अधिकांश ठाउँमा सीमानामै पर्छ भन्ने अर्थ लाग्ने जानकारहरू बताउँछन् । त्यस्तै देउवाले भनेजस्तो सो सन्धिमा महाकालीको पानी भारत र नेपाललाई आधा–आधा हुने भन्ने उल्लेख छैन । बरु, सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ । जबकि महाकाली नदीमा हिउँदमा पनि १० हजार क्युसेक पानी बग्छ । 

चुनावी सभामा देउवाले आसन्न उपनिर्वाचन जितेर कांग्रेसले सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन चाहेको पनि बताए । ‘केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौ, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक छ,’ उनले भने । जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि कांग्रेसलाई जिताउन अपिल गरे । 

देउवाले वर्तमान सरकारले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बनाउन खोजेको भन्दै आपत्ति पनि जनाए । संवैधानिक परिषद्मार्फत सबै निकायमा सरकारले कब्जा गर्ने नियत राखेको उनको आरोप थियो । 

प्रतिनिधिसभा सदस्यका लागि एउटै मात्रै सिट कास्की–२ मा उपनिर्वाचन हुँदै छ । कांग्रेसका शीर्ष नेताहरू केही दिनदेखि पोखरामा केन्द्रित भएका छन् । शनिबारको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, युवा नेता गगनकुमार थापालगायत सहभागी थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भट्टराई र रोहितराज पराजुलीले लेखेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भट्टराई र रोहितराज पराजुलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्