इलाम र बझाङमा आज मतगणना सुरु हुँदै



काठमाडौँ । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । इलामको मतगणना सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ ।

मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुनेछ ।

चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिवार राति १० बजेसम्म पनि सङ्कलन हुन नसकेपछि शनिवार नै गणना सुरु गर्न नसकिएको हो ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिवारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको हो ।

यसै गरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

आज बिहान ८ बजेभित्र मतपेटिका सङ्कलन गरिसक्ने र १० बजेभित्र मतगणना सुरु गर्ने गरी तयारी भइरहेको छ । मतगणना जिल्ला अदालतमा हुनेछ । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्