नेपालले सार्वजनिक गर्यो लिपुलेक–कालापानी समेटिएको नक्सा



काठमाडौं । सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नागरिक समाजका तर्फबाट गठन गरिएको समाजले आइतबार पत्रकार सम्मेलन गरी भारतीय अतिक्रमणमा परेको नेपालको भूभागसहितको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा.डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको प्रष्ट्याए । ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं,’ उनले भने, ‘नक्सा बनाउँदा काली नदीको मुहानबारे पनि प्रष्ट पारिएको छ ।’

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएका जानकारी दिँदै उक्त नक्सालाई विश्वव्यापी बनाउने बताए । नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा गर्नुपर्नेमा जोड दिए । ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो,’ उनले भने, ‘सार्वजनिक गरिएको नक्सा सुगौली सन्धि अनुसारको छ ।’

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्