पूर्वराजा शाह पश्चिम भ्रमणमा जाँदै



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा निस्कन लाग्नुभएको छ। उहाँ यही मंसिर १४ गते हुने उपनिर्वाचनको भोलिपल्टदेखि पश्चिमाञ्चल भ्रमणमा निस्कन लाग्नुभएको हो।

  • निर्वाचन आचार संहिताले रोक्यो
  • नाति हृदयेन्द्रलाई सेरिमोनियल किङ बनाउने चाहना
  •  राजावादीको निम्तो मान्ने र मठ–मन्दिर दर्शन गर्ने

जिल्लाको राजावादीको निम्तो मान्न र विभिन्न मठ–मन्दिरको दर्शन गर्न उहाँ पश्चिम भ्रमणमा निस्कन लाग्नुभएको हो । १५ गते बिहान बुद्ध एयरको जहाजबाट भैरहवा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

करिब दुई साता लामो भ्रमणका क्रममा उहाँले करिब आधा दर्जन जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ । स्थानीय राजावादी र विश्व हिन्दू महासंघले जिल्ला भ्रमणको व्यवस्थापन गरेका छन् । पछिल्लो समय डिस्कोमा पुगी रातो र चन्द्र सूर्य गीतमा नाचेर चर्चा कमाएका शाहको यो भ्रमणको मुख्य एजेन्डा जिल्लाका आफू निकटका नेता–कार्यकर्तासँग भेट गर्ने कार्यक्रम हो । उहाँले देशको पछिल्लो अवस्था र पूर्वराजाप्रति जनताको चाहना कस्तो रहेको छ भन्ने विषयमा सूक्ष्म जानकारी लिन पश्चिमाञ्चल भ्रमणमा लाग्नुभएको हो । ‘उहाँले पश्चिमका राजावादी र राप्रपा निकट विभिन्न नेतासँग भेटघाट गर्नुहुने भएको छ ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

६ महिनाअघि इलाम, पाँचथरलगायत तराईका केही जिल्ला दौडाहामा गएपछि शान्त बस्नुभएका शाहको यो भ्रमणलाई महत्वपूर्णरूपमा लिइएको छ।स्रोतका अनुसार पश्चिम केही जिल्लाका भ्रमण गरेपछि त्यतैबाट झापा जाने कार्यक्रमसमेत रहेको छ । ज्ञानेन्द्रले सेरिमोनियल राजतन्त्र ल्याउनका लागि जनमत बुझ्न विभिन्न जिल्ला भ्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।भ्रमणमा उहाँसँगै उहाँका निजी सचिव सागर तिमल्सिना, केही सुरक्षाकर्मी र निजी कर्मचारी सँगै जानेछन् । भैरहवाको होटलमा बस्ने गरी निस्कन लाग्नुभएका शाहले गुल्मी, अर्घाखाँची, बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पालगायतका जिल्ला भ्रमणका जानुहुने भएको छ।उहाँले ती जिल्लामा रहेका शक्तिपीठहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

मंसिर पहिलो साता भ्रमणमा निस्कने कार्यक्रम रहे तापनि निर्वाचन आचार संहिताको कारण उहाँ १५ गते जाने कार्यक्रम तय गर्नुभएको हो । भ्रमणको बस्दोबस्ती, रेकी गर्न र सुरक्षा अवस्थाबारे जानकारी लिन निजी सचिव डा. तिमल्सिना र निजी सुरक्षाकर्मी विभिन्न जिल्लाको भ्रमणमा छन्।यही शुक्रबार सुरक्षाकर्मी र केही कर्मचारी सुरक्षा बन्दोबस्त गर्न ती जिल्लामा पुग्नेछन् । सवारीसहितको कन्भ टोली तीन दिनपछि भैरहवा पुग्नेछ।भैरहवाको होटलमै पूर्वराजावादीसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

छोरा पारसको पछिल्लो गतिविधि देखेर दिक्क भएका ज्ञानेन्द्रले नाति हृदयेन्द्रलाई सेरिमोनियल किङ बनाउन खोज्नुभएको छ । ज्ञानेन्द्रले आफ्नो जिल्ला भ्रमण त्यसैलाई केन्द्रित बनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। पोखरामा मस्ती गरिरहेका पारस अहिले चितवन पुग्नुभएको छ।पश्चिम भ्रमणपछि उहाँले थप जिल्ला भ्रमण गर्ने योजना बनाइरहनुभएको स्रोतको भनाइ छ। ज्ञानेन्द्रले हिन्दू धर्मसहितको राजतन्त्रको वकालत गरिरहेको कमल थापा निकट राप्रपाका केही नेतासँग समेत भेट्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । यो समाचार आजको नेपाल समाचार पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्