आइतबार सार्वजनिक बिदा



पोखरा : तमु ल्होसारका अवसरमा प्रदेश ४ मा सार्वजनिक बिदा दिइएको छ । सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा दिएको प्रदेश ४ स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । 

प्रत्येक वर्ष १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा छ ।

यो पर्वमा मान्यजनहरुको आशिवार्द लिने र शुभकामना आदानप्रदान गर्ने, राम्रो लगाउने, मीठो खाने प्रचलन छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । 

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्