सरकारलाई अटेर गर्ने कर्मचारीको सट्टा नयाँ भर्ना गर्नुपर्छ : प्रचण्ड



काठमाडौं : कर्मचारी समायोजनसम्बन्धी अध्यादेश त्रुटिपूर्ण रहेको भन्दै कर्मचारीहरू आन्दोलित भएका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्देशन अटेर गर्ने कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बताएका छन् ।

काभ्रेको चौरी देउराली–२ स्थित खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा उनले राष्ट्रसेवक कर्मचारीलाई ऐन र कानुनको पालना गर्दै खटाएको ठाउँमा जानुपर्ने बताए । दाहालले खटाइएका ठाउँमा जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्ने धारणा व्यक्त गरे ।

संघ, प्रदेश र स्थानीय तह सबैमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुन लागेको जानकारी दिँदै अध्यक्ष दाहालले तत्काल कर्मचारी समायोजन गरेर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।  

बेलामा कर्मचारी समायोजन नहुँदा सिँहदरबारका अधिकार गाउँगाउँमा पुर्याउन ढिला भइरहेको उनले बताए । कतिपय कानुन अभाव र कर्मचारी समायोजनमा उत्पन्न अन्योलका कारण गाउँ तहमा अधिकार कार्यान्वयन गर्न कठिन भएको उनले सुनाए । 

अध्यक्ष दाहालले नेकपाको स्थायी कमिटी बैठकले पुस महिनाभित्र पार्टी एकता गरिसक्ने निर्णय गरेको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्