हृदयेशको समूह टोलटोलमा पसारिने



कपिलवस्तु : सांसद हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले आफ्नो संगठन विस्तार गर्ने भएको छ । समूहको राजनीतिक प्रभाव र कार्यक्षमता बढाउने उद्देश्यअनुरूप वडा तहसम्म संगठन विस्तार अभियानलाई तीव्रता दिइने समूहका नेता एवं पूर्वमन्त्री ईश्वरदयाल मिश्रले बताए ।

केही दिनअघि काठमाडौंमा बृहत् राष्ट्रिय भेला गरी आफ्नो राजनीतिक मार्गचित्रका बारेमा गहन विमर्श गरेको समूहले संघीयता कार्यान्वयनका लागि संविधानमा आवश्यक संशोधन र किसानका जटिल समस्या समाधानका लागि पहल गर्ने जनाएको थियो ।

त्यसलगत्तै समूहका नेतृत्वकर्ता त्रिपाठीले काठमाडौंको एक कार्यक्रममा सरकारको वित्तीय कार्यक्रम र अर्थमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका थिए । उनले किसानका समस्याहरू समाधानमा सरकार असफल भएको टिप्पणीसमेत गरेका थिए ।

नेता मिश्रका अनुसार समूहले वडा, गाउँपालिका र नगरपालिकाका साथै जिल्लास्तरमै कमिटी गठन गर्नेछ । नेकपासँग एकीकरणका लागि वार्ता गर्ने जनाएको समूहको अहिलेको हैसियत भने स्वतन्त्र नै रहने जनाएको छ ।

तत्कालीन तमलोपा एकीकृत राजपा नेपालको अंग भइसकेपछि वरिष्ठ उपाध्यक्ष रहेका त्रिपाठीले संसदीय निर्वाचनमा पार्टी परित्याग गरी स्वतन्त्र राजनीतिक समूह गठन गरेर चुनावमा भाग लिएका थिए ।

तत्कालीन नेकपा एमालेसँग केहीबुँदे सहमति गरी उनले सहकर्मीका साथ सूर्य चिह्नबाट चुनावमा सहभागी भएका थिए । राजपा नेपालले दुई नम्बर प्रदेशबाहेक अन्यत्र चुनाव बहिष्कार गरेको कारण पुष्टि गर्न नसकेको भन्दै उनले पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्