रहेनन् बुद्धिकृष्ण लामिछाने, श्रद्धाञ्जलि दिन न नेता पुगे न सर्जक नै



भक्तपुर: ‘पिँढीमा बसेर मेरै बाटो हेरेर

मेरी आमा रुँदी हुन् मलाई सम्झेर

परदेशी छोरा नआउँदा

चिठीपत्र नपाउँदा

मनमा विरह चल्दो हो आँसुले धोती भिज्दो हो’

 

यस्ता आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले शुक्रबार आफ्नै आँगनमा देहत्याग गर्दा परिवारको मात्रै नभई भेला भएका अधिकांशको आँखा त्यसैगरी रसाए ।

 

आँगनमा लडिरहेको उनको देहलाई हेरेर आँसु पुछ्नेहरु ‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदि हुन् मलाई सम्झेर…’ बोलको गीतको चर्चा गरिरहेका थिए । उनकी छोरी सम्झना भन्छिन्, ‘यो गीतमा जस्तै उहाँको प्यारो पिँढीमा झन्डै आधा जीवन बिताउनु भएका बुबाले आज त्यही पिँढी पनि छाडेर जानुभयो ।’

 

१ साउन २०१२ मा जन्मिएर सयभन्दा बढी जीवन्तपरक गीत गाएर नेपाली गीत संगीतका क्षेत्रमा लोकप्रियता हासिल गरेका थिए । हृदयाघातका कारण सात वर्षअघि पक्षाघात भई घरमै थलिएका लामिछानेले ६३ वर्षका उमेरमा शुक्रबार अपराह्न आफ्नै निवास चाँगुनारायण नगपालिका–७ स्थित चारघर चौतारामा देहत्याग गरेका हुन् ।

 

‘घाँस काट्ने खुर्केर

आयो जोवन हुर्केर

कसलाई दिऊँ यो जोवन…।’

 

विरहका मात्रै होइन युवा प्रेमका गीत गाउने यी साधक घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाइरहन्थे । उनलाई भेट्न जानेहरुले विरहका गीतको सम्झना गराउँदा उनको आँखाबाट मात्रै होइन, भेट्न जानेहरुको मन पनि कटक्क काट्थ्यो, आँसु तप्प चुहिन्थ्यो ।

 

गायिका कोमल वलीसँग लामिछानेले गाएको गीत ‘तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी…’ मात्रै नभई ‘फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दै छु भारी बोक्दै छु…’ जस्ता उनले गाएका गाउँघरको यथार्थ जीवन बोकेका गीत पनि उत्तिकै चर्चामा आए ।

औषधोपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोगबाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थलाई पनि गीतमार्फत ल्याएका थिए ।

 

पर्नु प-यो पीर जेठा,

मलाई प-यो पीर

एउटा थाप्ला दुइटा नाम्लो

ज्यानलाई प¥यो पीर…’

 

दुइटी श्रीमती ल्याउँदा कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढंगले गाउने गायक लामिछानेको पार्थिव शरीरलाई बिदाइ गर्नसमेत कान्छी श्रीमती र कान्छी श्रीमतीबाट जन्मिएका एक छोरी नआएको चर्चा बागेश्वरी–७ महादेव मन्दिरनजिकै रहेको घाटमा उनको देह जलिरहँदा चलेको थियो ।

 

टीकाराम र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मी सानैमा बुबा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न रेडियो नेपालमा स्वर परीक्षण उत्तीर्ण गरेर २०३६ सालमै रेडियो नेपालमा पहिलो गीत रेकर्ड भयो, ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर…।’ सो गीत चर्चित भएसँगै ‘गाई त बाँध्ने पातलो दाम्लो…’, ‘पर्नु प¥यो पीर, जेठा मलाई प¥यो पीर…’, ‘भयो डामाडोल…’, ‘फाटेको दौरा लाएर खोले सिस्नु खाएर…’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौं कि फनफनी कान्छी…’ लगायत गीत गाउँदै गीतियात्रामा उनी अघि बढेको उनकी श्रीमती दुर्गादेवी बताउँछिन् ।

 

लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उनको भूकम्पले भत्काएर जीर्ण बनेको घरको पिँढीमा न कोही नेता पुगे, न कोही सरकारी प्रतिनिधि नै । घाटमा उनको देह जलिरहँदासम्म पनि कलाकर्मी र गायकगायिका श्रद्धाञ्जली अर्पण गर्न नआएको देख्दा गाउँका मलामी भने एक स्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका राजधानीमा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस्