बम्जनका देशैभरका आश्रममा प्रहरी निगरानी



काठमाडौं: तपस्वी रामबहादुर बम्जनका देशैभरका आश्रममा प्रहरीले निगरानी बढाएको छ। बम्जन आश्रमबाट सलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको हो।

 

कर्मा वाइबा हराएको भन्दै नुवाकोट प्रहरीमा जाहेरी परेपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ। ‘पाँच वर्षअगाडि हराएका रहेछन्। बिहीबार मात्रै हामीकहाँ खोजिदिन भन्दै उजुरी परेको छ’, नुवाकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी विमल भट्टराईले भने, ‘बम्जनकै अनुयायीका रुपमा रहेका कर्मा एकाएक बेपत्ता भएपछि हामीकहाँ खोजिदिन उजुरी परेको छ। खोजी तीव्र पारेका छौं।’ उनले बम्जन बस्ने आश्रमलाई निगरानी गर्ने तथा अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढेको जनाए ।

 

बाराका एसपी सानुराम भट्टराईले आश्रममा बसेका सुरेश आलेमगर हराएको भन्दै किटानी जाहेरी परेपछि खोजी सुरु गरेको बताए। उनले भने, ‘हामीले खोजी गर्न सुरु गरेका छौं। बम्जन आश्रममा निगरानी बढाइएको छ।’ सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पहिरेमा तपस्वीका रूपमा बस्दै आएका रामबहादुर बम्जनलाई चारजना आश्रममा बस्दै आएका बेपत्ता बनाएको आरोपसहित किटानी जाहेरी आफन्तले दिएका छन् ।

 

बम्जनका आश्रममा बस्दै आएका आनीहरू तथा अन्य गरी चारजना परिवारको सम्पर्कमा नपुगेकाले बम्जनको आश्रमबाटै बेपत्ता भएको परिवारजनले आरोप लगाएका छन् । फूलमाया रुम्बा र सलाल वाइबाको खोजी तीव्र पारिएको मकवानपुर प्रहरी कार्यालयका डिएसपी यज्ञ भट्टराईले जानकारी दिए ।

 

२०७१ साल चैतदेखि नै बम्जनको आश्रमबाट बुबा बेपत्ता भएकाले खोजिदिन आग्रह गरेको सलालका छोरा महिन्द्राले बताए । सिन्धुली क्यानेश्वरकी लमिनमाया वाइबा पनि आश्रमबाट बेपत्ता भएको परिवारले जनाएका छन् । यद्यपि उनलाई भने बोधी श्रवण धर्म संघले परिवारको जिम्मा लगाएको प्रमाण आफूहरुसँग भएको जनाएको छ ।

 

बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी

छोरोलाई बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा एक दम्पतीले रामबहादुर बम्जन र उनका एक सहयोगीविरुद्ध उजुरी दिएका छन्। ३४ वर्षीय छोरा सुरेशकुमार आलेमगरलाई बेपत्ता बनाएको आरोपमा बम्जन र उनका सहयोगीविरुद्ध बुबा हस्तबहादुर आलेमगरले उजुरी दिएको बारा प्रहरीले जनाएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्