संचारमन्त्रीलाई प्रश्न: पत्रकारकै हुर्मत किन लिनुहुन्छ ?



काठमाडौं:  अभियोग  : दुई दशकभन्दा लामो समय पत्रकारिता गर्नुभयो । पत्रकारितामार्फत नै राजनीतिक उचाइ लिनुभयो । तर, मन्त्री भएपछि आफ्नो विगत बिर्सँदै सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलनमा पत्रकारकै हुर्मत लिनुहुन्छ ।

 

जवाफ: मैले जीवन बिर्सने कुरा हुँदैन, विरासत बिर्सने कुरा हुँदैन । तपाईंले उठाएको कुरा ठीकै हो, तर पनि एउटा तथ्य स्मरण गराउन चाहन्छु । म पहिला राजनीतिमै थिएँ, पछि मैले पत्रकारिता र राजनीति सँगसँगै थालेँ । मैले दृष्टिकोणसहितको पत्रकारिता गरेँ, अहिले र उहिलेको भिन्नता त्यही थियो ।

 

त्यस हिसाबले हिजो पत्रकारिता क्षेत्रमा हुँदा पनि मैले कयौँ विषयहरूमा आफ्ना मान्यताहरू कायम गरेको छु । र, अहिले मन्त्री हुँदा पनि मैले त्यो मानक कायमै राखेको छु भन्ने मलाई लाग्छ । मैले पत्रकारहरूको हुर्मत लिएको होइन । मैले त खाली केही विषयवस्तुको दृष्टान्त दिँदै तथ्यमा टेक्न अनुरोध मात्रै गरेको हो ।

 

धेरै साथीहरूले मेरो आलोचना गर्ने विषय भनेको ‘पत्रकारहरूसँग सिधासिधी प्रस्तुत भयो’ भन्ने हो । पत्रकारिताको एउटा खास विशेषता नै सिधासिधी हो । र, मेरो विरासतको एउटा उपहार वा लिगेसीचाहिँ के आयो भने मन्त्री भएर पनि मैले पत्रकारिताको सिधासिधी र प्रस्ट तथ्यमा उभिएर बोल्ने विशेषता छाडेको छैन, यसमा त पत्रकार साथीहरूले पनि गर्व गर्नुपर्ने हो ।

 

मैले उठाएका केही कुराहरू छन्–जस्तो मिडिया आलोचक हुनुपर्छ, आरोपकर्ता होइन । मिडिया समाजको ऐना र पथप्रदर्शक बन्नुपर्छ, पुर्वाग्रही होइन । मिडियाले तथ्य पस्किनुपर्छ, सबैलाई भ्रममुक्त गर्नुपर्छ, ताकि समाज निर्माणमा चौथो अंगका रूपमा मिडिया स्थापित भएका कारण राज्यको विकासमा उसको पनि दायित्व हुन्छ ।

 

मिडिया कसैको समर्थक वा कसैको विरोधी हुनुपर्छ भन्ने मान्यता मैले आजसम्म राखेको छैन, बोलेको पनि छैन । हो, मैले कसैको समर्थनमा सम्पादकहरूको टिम नै गएर वक्तव्यबाजी गरेको कुरामा मैले टिप्पणी गरेको हो ।

 

त्यो पत्रकारिताको इथिक्सभित्र पर्दैन । विषयवस्तुका बारेमा विभिन्न मिडिया हाउसको, सम्पादकको वा सम्पादकीय टिमको आफ्नै बुझाइ वा दृष्टिकोण हुन सक्दछ, तर कुनै संगठनले ज्ञापनपत्र बुझाउन जानेजस्तो सामूहिक रूपमा हस्ताक्षर गरेर हिंड्नुचाहिँ राम्रो होइन भन्ने कुरा मैले गरेको हो । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्