हुम्लामा हिउँ नपरे दुःख बढ्छ



काठमाडौं: बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो हिउँ पर्‌यो, बिलायो । हिउँदे बालीलाई पुग्ने जति परेन ।

 

हुम्लामा खेतीलाई हिउँकै भर छ । खेतबारीमा सिँचाइको व्यवस्था छैन । दर्के झरी पनि पर्न छोडेको छ । बाक्लो हिउँ परे मात्र बालीनाली फस्टाउने स्थानीय बताउँछन्। ‘बाक्लो हिउँ परेन, बारीमा गहुँ–जौ पनि उम्रेन,’ सिमकोट–७, डाँडाफायका लालबहादुर शाही भन्छन्, ‘हरियो भइसक्नुपर्ने बारी मरुभूमिजस्तो छ।’

 

पाँच वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । परे पनि फासफुस मात्र हुन्छ, जमिन बेसरी भिजाउँदैन । ‘अस्ति अलिअलि हिउँपर्‌याथ्यो, उतिबेलै बिलायो, बारी भिजेन,’ शाहीले भने । छिट्टै हिउँ नपरे यो वर्ष हिउँदे बाली नफल्ने पीर छ उनलाई । हिउँदे बाली भएन भने हुम्लीका दुःखका पहाड झन् अग्लिँदै जानेछन् ।

 

बारीमा अन्न फल्न कम हुँदै गएको छ । सिमकोटस्थित नेपाल खाद्य संस्थानको डिपोमा पनि भनेजति चामल पाइँदैन । बारीमा फलेन र किन्न पनि पाइएन भने हालत के होला? डाँडाफायकी हिराकला शाहीसँग पनि यो प्रश्नको उत्तर छैन । भन्छिन्, ‘घरमा केही भए खाने, नभए भोकै बस्ने।’

 

पुसमा जति बाक्लो हिउँ पर्‌यो, हिउँदे बाली उति राम्रो हुन्छ । यसभन्दा ढिला हिउँ परे, बाली सप्रिँदैन । राम्रो बाली भएको वर्ष चार महिना मुस्किलले खान पुग्छ । बाँकी नौ महिना खाद्य संस्थान र नेपाल–चीन सीमा बजार हिल्साको खाद्यान्नको भर पर्नुपर्छ ।

 

डाँडाफायका वडा सदस्य जयबहादुर शाहीको अनुभव छ, ‘उवा जौ, गहुँ नउम्रिँदा थप खाद्य संकट हुन्छ । केही वर्ष अघिसम्म पाँच फिट हिउँ पथ्र्यो, बालीनाली पनि राम्रो हुन्थ्यो ।’ हुम्लाका माथिल्लो भेगको बारीमा एक बाली मात्र फल्छ । पछिल्ला वर्ष झन् समस्या पर्न थालेको उनको अनुभव छ।

 

जलवायु परिवर्तन भएपछि स्थानीयको जनजीवनमा प्रतिकूल असर परेको छ । समयमा हिउँ र पानी नपर्दा बाली सप्रिएको छैन । हिउँ कम परेका कारण पानीका स्रोत सुक्न थालेका छन् । गाईबस्तुका लागि जंगलमा पनि पर्याप्त घाँस छैन।

 

जलवायु परिवर्तनले गर्दा हिउँ र पानी पर्ने क्रममा तलमाथि भएपछि स्थानीय सरकार र यूएनडीपीले जीविकोपार्जन सहज पार्ने उपाय खोज्न थालेका छन् । सिँचाइ नहर निर्माण गरी खेती, चिसो मौसममा ग्रिन हाउसभित्र तरकारी खेती, व्यावसायिक स्याउ खेती सुरु भएको कान्तिपुरमा खवर छ ।नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम स्थानीय जिल्ला संयोजक दीपेश घिमिरेले हिउ“ नपरेका कारण खेतीमा परेको असर स्थानीयले बुझ्न थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्