सुनिएन खानेपानी कर्मचारीको आवाज



काठमाडाैं : नेपाल खानेपानी संस्थानमा जारी ४२ दिनदेखिको आन्दोलनप्रति खानेपानी मन्त्रालयको गम्भीर ध्यानाकृष्ट भएको छैन । गत साउनदेखि रिक्त सञ्चालक समिति अध्यक्ष पदमा हालसम्म नियुक्ति नगर्दा संस्थानका कर्मचारीले तलबसमेत खान पाएका छैनन् । 

 

संयुक्त कर्मचारी संघर्ष समितिले गत मंसिर २ गतेदेखि प्रधान कार्यालय तथा संस्थानका २४ वटा शाखा कार्यालयमा धर्ना दिँदै आएका छन् । धर्ना दिनेहरूमा संस्थानमा क्रियाशील चारवटै युनियनसँग आबद्ध कर्मचारी छन् ।

 

संस्थानलाई सक्षम र सुदृढ बनाउनुपर्ने, सञ्चालक समिति अध्यक्ष नियुक्ति गरिनुपर्ने, उपभोक्तामैत्री तथा प्रतिस्पर्धी संस्थान बनाउनुपर्ने, सर्वोच्च अदालतको निर्णयअनुसार २०६६ सालदेखिको विज्ञापन हुनुपर्ने, कर्मचारीको आन्तरिक वृत्ति विकास, संस्थानमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको रोजगारी ग्यारेन्टी गरिनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रेको नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले बताए । 

 

खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष एवं संघर्ष समिति संयोजक रामजी अर्यालको नेतृत्वमा नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराई, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष समीर पण्डित, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झगबहादुर डाँगीको नेतृत्वमा आन्दोलन जारी रहेको संघर्ष समितिका सहसंयोजक पदमहरि राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्