सेनाले गरे निःशुल्क स्वाथ्यजाँच, १४ सयभन्दा बढीले सेवा लिए



कञ्चनपुर : नेपाली सेनाले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ स्टेशनपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ३५ जनाले परीक्षण गराएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरस्थित सिंह सार्दुल गुल्म भगतपुर ब्यारेकको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको सहयोगमा ग्रामीण क्षेत्रमा आयोजना गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा बालक, महिलादेखि वृद्धासम्मकाले स्वास्थ्य जाँच गराएका छन् ।

नेपाली सेनाले स्वाथ्य परीक्षणसँगै स्थानीय कला तथा संस्कृति जगेर्नासम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । सेनाले स्वास्थ्य समस्यासम्बन्धी चेतनामूलक श्रव्यदृश्यसमेत स्थानीयलाई देखाएको थियो ।

नेपाली सेनाले हाडजोर्नी, आँखा र महिला समस्यासम्बन्धी जाँच तथा निःशुल्क औषधि वितरण गराएको छ । शिविरमा श्री २५ नं. बाहिनी अड्डामा रहेको २५ फिए गुल्मका उपसेनानी डा.साजन मर्हजन, श्री नं. ५ फिए तेघरी ब्यारेकका सहसेनानी डाक्टर ज्योति खड्का, महाकाली अञ्चल अस्पतालका डा. वैभव भट्ट र आँखा अस्पताल कञ्चनपुर शाखाका ईस्मथ अधिकारीलगायत चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।

सैनिक–नागरिक सम्बन्धलाई मजबुत बनाउन स्वास्थ्य शिविर र चेतनामूलक कार्यक्रम गरिएको आयोजक सिंह सार्दुल गुल्मका गुल्मपति  सेनानी विदुरध्वज अधिकारीले बताए । उनले जनसहकार्यमा यस प्रकारका सामाजिक काम गर्नमा नेपाली सेना सदैव अग्रसर रहने बताए ।

सेनाले कञ्चनपुरका विभिन्न ग्रामीण क्षेत्रमा अहिलेसम्म एक दर्जनभन्दा बढी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । अस्पतालबाट टाढा रहेका स्थानीयले घरआँगनमै स्वास्थ्यसेवा र निःशुल्क औषधि पाएपछि खुसी हुँदै सेनालाई धन्यवाद दिएका छन् । 

श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सरद ढकाल, शुक्लाफाँटा नगरपालिका प्रमुख दिलबहादुर ऐरलगायतले शिविरको स्थलगत अवलोकन गरेका थिए । 

सिंह सार्दुल गुल्मका गुल्मपति अधिकारी, शुक्लाफाँटा नगरपालिकाका प्रमुख ऐर, शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष जगतबहादुर सिंह र रासस कञ्चनपुरका कार्यालय प्रमुख शेरबहादुर सिंहको पहलमा शिविर सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्