भक्तपुरमा काँग्रेसको अग्रता



भक्तपुर : क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ ।

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजेसम्म आउने गरी मतगणना भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्