एउटा कुरूप बजारको कथा : चैनपुरमा भएन विकासको अनुभूति



सरसफाइ र सौन्दर्यीकरणका लागि बझाङ सदरमुकाम चैनपुरमा धेरैवटा अभियान सञ्चालन भए । निश्चित अवधिका फरकमा सञ्चालित ती अभियानले निरन्तरता पाउन सकेनन् । स्थानीय महिला र योगसाधकका पहलमा चलाइएका ती अभियानलाई निरन्तर र परिणामुखी बनाउन जयपृथ्वी नगरपालिकाले खासै चासो लिएको देखिएन । 

 

नगरक्षेत्रको सरसफाइका लागि जिम्मेवार निकाय भनेर चिह्न्ति नगरपालिकाको उदासीनता त छँदै थियो, त्यसमा थपियो विभिन्न वडामा डोजर आतंक । सहरबजार नै अस्तव्यस्त हुने गरी अहिले वडावडामा डोजर चलाइएका छन् । योजनाबद्ध तरिकाले ढलनिकास, सडक निर्माण र फोहोर व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले चासो नदिँदा स्थानीयका साथै यहाँ आउने पर्यटकलगायतलाई सास्ती भोग्नुपरिरहेको छ । नगरपालिकाको यस्तो बिढंगे कामले दिक्क भएका स्थानीय भन्छन्, ‘नगरपालिका ठेकेदारपालकजस्तै बनेको छ ।’

जिल्ला भ्रमणमा आउने व्यक्ति सदरमुकाम नपुगी हुँदैन । सुन्दर र मनोरम जिल्लाको कल्पना गर्दै बझाङ पुग्नेहरूले धुलाम्य र हिलाम्य सदरमुकामको चित्र कत्तिको कुरूप हेर्दा हुन् भन्ने सोच जिम्मेवार व्यक्तिमा पलाएको छैन । जसरी आँगन सफा भएन भने मानिस घरभित्र बिरलै छिर्छन्, त्यसरी नै सदरमुकाम नै आँखामैत्री नभए पर्यटक कसरी जिल्लाका अन्य भागमा पस्लान् भन्ने प्रश्न टड्कारो भएको छ ।

 

फोहोर व्यवस्थापन आवश्यक छ । तर, वातावरणमा प्रतिकूल असर पर्नेगरी फोहोर व्यवस्थापन गर्नु अनुचित र अवैधानिक पनि हो । अहिले सदरमुकामको फोहोर सेती नदी र बाहुलीगाडमा फालिँदैछ । यसले भोलि सेतीको हालत वागमतीकै जस्तो नहोला भन्न सकिन्न । यसबारेमा स्थानीय चनाखो हुनुपर्छ भन्ने जनप्रतिनिधि गम्भीर । 

उदेकलाग्दो पक्ष के छ भने रत्तिभर लान नमानीकन खुलेआम नदीमा फोहोर विसर्जन गरिँदैछ । केही समययता त मदिराजन्य पदार्थका बोतलसमेत नदीमा थुपार्ने काम भइरहेको छ । सिसाजस्ता अजैविक वस्तु बजारवरपर र नदीमा थुपारिँदा यहाँ आउने पर्यटकलाई त नराम्रो सन्देश दिन्छ नै यस क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई समेत असन्तुलित बनाउनेछ । त्यसैले बेलामै यस्ता अनुपयुक्त काम निषेधित हुनुपर्छ । 

 

नगरपालिका घोषणाका बेला सुबेडाको खोलामा डम्पिङ साइट बनाउने निर्णय गरेको नगरपालिकाले लामो समयदेखि अन्योलमा छ । बजेटका लागि हानथाप गर्ने जनप्रतिनिधिले विकासको अनुभूति दिलाउने गरी काम गरेका देखिँदैनन् । डोजर विकासले आफ्नो र कार्यकर्ताको झोला भरे पनि बजारको कायापलट हुँदैन । 

 


सुवेडा र देवलमा रिङरोड तत्काल आवश्यक छैन

जयपृथ्वी नगरपालिकाले देवल हुँदै सुवेडाको जिउलोमा रिङरोड निर्माणका लागि बजेट छुट्याएको छ । यो दिगो विकासभन्दा दीर्घकालीन् विनासको कारक हुन सक्छ । जयपृथ्वी राजमार्ग प्रस्तावित रिंगरोड नजिकै छ ।

जमिन टुक्रयाएर आफ्नो फाइदा खोज्नेहरूले यहाँको उर्वरभूमि र बगरमा गाडी गुडाएर नदी दोहन गर्न खोजेका छन् । देवल विमानस्थलसम्म आवश्यक नै छ तर देवल सुवेडाबीचको पहिरो उछिनेर रिङरोड तत्कालिन् आवश्यकता होइन्

 

यसले फलेको तरकारी सुटुक्कै गाडीमा राख्ने सुवेडावासीको सपना कदापि साकार हुँदैन । खेती सखाप पारेर गाडी गुडाउने रहरको सट्टा खानेपानी आँगनमै पुर्‍यानेतिर सुवेडावासी जागरुक हुनुपर्छ । 

सेती नदीमा पक्की पुल निर्माण निर्माण पनि एउटा असल विकल्प हुन सक्छ ।


साँघुरा सडकको विस्तार कहिले ?

सदरमुकाम चैनपुर सायद एउटै बजार हो जहाँ दुई पाङ्ग्रेबाहेकका सवारी छिर्न हम्मे पर्दछ । जिल्लाको केन्द्रकै हालत यस्तो छ भने अन्य साना बजारको स्थिति कस्तो होला ? साँघुरा सडकका कारण दुईपाङ्ग्रेमा हिँड्न त्रसित हुन्छन् चैनपुरवासी ।

 सानो बजारभित्र सबै सरकारी, गैरसरकारीलगायत विभिन्न कार्यालय रहेकाले मानिसको बाक्लो भीड लाग्ने ठाउँ हो यो । मानिस र सवारीसाधनको चाप घटाउन नसकिने स्थितिमा सडक नै फराकिलो बनाउनुपर्ने हुन्छ । नगरपालिकाले केही समयअघि सडक विस्तारको प्रयास गरेकै हो । तर स्थानीय व्यापारीले यस कार्यमा अवरोध खडा गरे जुन सरासर गलत थियो । 


सडकबत्ती कहिले ?

एक समय थियो, जब बझाङमा बिजुली थिएन । कलकारखाना र होटल व्यवसायीलाई निकै सास्ती हुने गर्दथ्यो । यसको फाइदा उठाउँथे स्थानीय चोर, डाँका र जुवाडे । तर, पछिल्लो समय राष्ट्रिय प्रसारण लाइन जोडियो । तर, बिजुलीको समस्या अझै उस्तै छ ।

 

विद्युत् आपूर्ति गर्ने काम विद्युत प्राधिकरणको हो भनेर नगरपालिका पन्छिन सक्छ । तर, नगरवासीका सम्पूर्ण अप्ठेरा समाधान गर्ने जिम्मेवारी नगरपालिकाकै हो । त्यसैले डडेल्धुरा, बैतडीलगायत ठाउँमा नगरकै सहकार्यमा सोलार सडकबत्ती जडान गरिएझैं जयपृथ्वी नगरपालिकाले पनि यस विषयमा सोच्न जरुरी छ ।


खानेपानी समस्या उस्तै

वर्षाै भइसकेको छ बजेट छुट्याइँदै छ तर खानेपानी समस्या उस्तै छ । सेती नदीको फोहोर पानी खाएर चैनपुरबासी कहिलेसम्म बाँच्ने ? अवव्यवस्थित पाइप लाइन पनि अझैं व्यवस्थित छन् ।

 

प्रतिक्रिया दिनुहोस्