भक्तपुर–१ (क) मा १६ उम्मेदवारको जमानत जफत, तीन उम्मेदवारको जोगियो



भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र–१ (क) का १६ जना उम्मेदवारको जमानत जफत गरिएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २०६ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५ हजार ८२९ मत ल्याए ।

यी तीनैजनाको जमानत जफत हुनबाट जोगियो ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा सदर भएको कुल मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन ।

ती उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामप्रसाद नेपाल (५७४ मत), साझा पार्टीका सुरज प्रधान (३९३ मत), नेपाल कम्युनिस्ट पार्टी (माले)का सुदर्शन लामिछाने (३७ मत) छन् ।

यसैगरी समाजवादी पार्टीका सुदर्शनकुमार मुनकर्मी (३२ मत), संघीय लोकतान्त्रिक मञ्चका मिङमार लामा (५ मत) र नेपाली कांग्रेस (बीपी) का मधुसुदन न्यौपाने (२ मत)को पनि जमानत जफत भएको छ ।

यसअतिरिक्त स्वतन्त्र उम्मेदवारहरु राकेश सुवाल, सुमना कार्की, अर्जुन कोजु, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, संगीता पौडेल आचार्य र सुजाता देउजाको पनि जमानत जफत भएको छ । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार देउजाको सबैभन्दा कम मत आएको छ । उनले १ मतमात्र हासिल गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्