प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : म्युजिक सुन्दै हिँड्दै, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था (विज्ञप्तिसहित)



काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएको सोमबारदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था सुधारोन्मुख रहेको छ । अहिले सघन उपचार कक्षमा बसिरहँदा दिक्क लाग्न सक्ने अवस्था देखेर मुटुरोग विशेषज्ञ डा.अरुण सायमीको सल्लाहमा सानो स्वरमा म्युजिक सुनाउन थालिएको छ ।

त्यस्तै प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या शाहका अनुसार प्रधानमन्त्री ओलीको पाचनक्रिया बिस्तारै सामान्य अवस्थामा फर्कंदै छ । बिस्तारै हिँडाउन थालिएको छ भने जाउलो लगायत ठोस आहारा खुवाउन थालिएको छ ।

हिजो आइतबार भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सरिक हुन नसकेपछि प्रधानमन्त्री ओलीले आईप्याडबाट प्रत्यक्ष प्रसारण हेरेका थिए । उनको स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासनले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाईएको छ ।

No photo description available.

भर्खरै द नेपाल टप डट कमसँग कुरा गर्दै प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।

डा. शाहका अनुसार मुख्य समस्या एपेन्डिसाइटिस भएर पेटमा फैलिएको संक्रमण थियो । त्यसको उपचार भएर नियन्त्रणमा आइसकेको छ । उनले भनिन– ‘पेट चिरेपछि घाउ त भइहाल्छ । घाउ निको हुन समय लाग्छ होला ।

त्यसपछि सामान्य अवस्थामा फर्कनुहुन्छ ।’ उपचार टोलीका संयोजक प्रा. डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीको आत्मविश्वास बलियो छ । प्रधानमन्त्री ओलीमा पूर्ण आत्मविश्वास भएकाले छिटो–छिटो सुधार भएको डा. सायमीले बताए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. शाहका अनुसार डिस्चार्ज हुन अझै एक हप्ता लाग्नेछ ।

निजी चिकित्सक डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको शारीरिक र बायोकेमिकल मापदण्डमा सुधार भइरहेको छ । रक्तचाप, नाडीको धडकन (पल्स), श्वासप्रश्वास राम्रो छ । रगत र पिसाबमा गरिने जाँच पनि अपेक्षाअनुरुप सुधार देखिएको छ ।

डा. शाहले भनिन–‘ प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरेको मिर्गौलाको काममा ह्रास आउन थालेकाले बिचमा डायलाइसिस गर्नु परेको हो। मिर्गौलाले अलिअलि काम गरेको छ तर जति शत प्रतिशत काम गर्नुपर्ने हो त्यो गरिरहेको छैन। त्यसकारण पनि बिचबिचमा डायलाइसिस उहाँलाई गर्दै आइरहेको छौँ।’

अप्रेसन भएको समयमा अलिकति हाइपरक्याटाबोलिजम स्टेज हुने भएकोले बिरामीलाई जसरी पनि स्टेबल राख्नुपर्ने र कुनैपनि समस्या आउनुभन्दा पहिला नै चिकित्सकले समस्या आउन नदिन उपायहरु अबलम्बन चिकित्सकले गरिरहेको छ । त्यही क्रममा नै प्रधानमन्त्री ओलीको दुई पटक डायलाइसिस गरेको अस्पतालले जनाएको छ । अहिले भने प्रधानमन्त्री ओलीको स्वास्थ्य स्टेबल भएको रहेको आवश्यक भए मात्र डायलाइसिस गर्ने अस्पतालले बताएको छ ।

डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रियापछि रक्तश्राव हुने सम्भावना भएका कारण धेरै रक्तश्राव नहोस भनेर प्लेटस दिइएको छ । प्लेटलेटले रक्तश्राव हुनलाई रोक्छ । कम्प्लिकेसन नहोस भनेर उहाँलाई प्लेटलेट्स चढाइएको हो । यो उपचारकै क्रम हो। उपचारका क्रममा जुनबेला जे जरुरत पर्छ हामीले त्यही एक्सन लिन्छौँ । अरु साधारण बिरामीको लागि पनि यही प्रक्रिया अपनाउने हो ।

डा. सायमीले प्रत्यारोपण गर्ने कुरामा यहाँ नेपालमा राम्रो टिम र नतिजा भएपनि मृगौला प्रत्यारोपणका लागि विदेश नै लैजान उचित हुने सल्लाह दिएको बताइन्छ । प्रा.डा. अरुण सायमी, डा. दिव्या सिंह शाह, डा. सुवास आचार्य, डा. रमेशराज भण्डारी, डा. विभुष श्रेष्ठ लगायतको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेका छन् । यी बाहेकका चिकित्सकहरु पनि उपचार टोलीमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले दुई टोलीमा रहेका सात जना चिकित्सकले प्रधानमन्त्रीको उपचार गरिरहेका छन् । क्रिटिकल टोलीको नेतृत्व डा. सुवास आचार्यले गरेका छन् भने सर्जिकल टोलीको नेतृत्व डा. रमेशराज भण्डारीले गरेका छन् । दुईजना वरिष्ठ नर्स र अन्य नर्स पनि चौबिसै घण्टा प्रधानमन्त्रीको उपचार टोलीमा कार्यरत छन् ।

नर्सहरुले प्रधानमन्त्री ओलीको रक्त परीक्षण, दिसापिसाब परीक्षण, रक्तचाप मापन, ज्वरो मापन लगायतका सबै विवरण टिपिरहेका छन् । तिनै विवरणको आधारमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । प्रधानमन्त्री भर्ना भएपछि अस्पतालमा भीआईपीहरुको आगमन निरन्तर चलिरहेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । प्रधानमन्त्री नै भर्ना भएकाले अस्पतालका कर्मचारीले यसलाई चुनौतीका रुपमा लिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भर्ना गरेदेखि अस्पतालका निर्देशक उत्तमकृष्ण श्रेष्ठको दैनिकी फेरिएको छ । उनी बिहान सबेरै आउँछन, राती १० बजेसम्म अस्पतालमै बस्छन् । अस्पताल प्रशासनका अनुसार कर्मचारीलाई अत्यावश्यक नभएसम्म बिदा बस्न दिइएको छैन । यसरी प्रधानमन्त्री ओली रहेका कारण बढेको चहलपहललाई व्यवस्थित गर्न अस्पताल प्रशासनले निकै मिहेनत गरेको देखिन्छ ।

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न आउने भीआईपी आगन्तुकको भीड लाग्ने गरेको छ । प्रधानमन्त्रीलाई भेट्न नपाएपनि उनीहरुले त्यहाँ रहेका प्रधानमन्त्रीका परिवार सदस्य र सचिवालय सदस्यसँग भेटेर स्वास्थ्य अवस्था बुझेर फर्किने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्