धरानमा कांग्रेसको बहुदलपछि पहिलो जित, तिलक राई निर्वाचित



धरान : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले बहुदलपछि पहिलो जित हात पार्न सफल भएको छ । कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवारलाई २ हजार ७ सय ९५ मतले पछि पार्दै आफ्नो जित सुनिश्चित गरेका हुन् ।

तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्दी नेकपाका उम्मेदवार प्रकाश राईले भने २३ हजार ९१४ मत पाएका थिए ।

तिलकको जितसँगै कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ । २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो ।

२०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । त्यसबेला पनि कांग्रेसका तर्फबाट तिलक राई नै उम्मेदवार बनेका थिए । सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि गत शनिबार उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्