नरेन्द्र मोदीको जीवनकथा चलचित्रको पर्दामा 



काठमाडौं ः भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित चलचित्र ‘एक्सिडेन्टल प्राइम मिनिस्टर’ र शिवसेनाका प्रमुख बालासाहेव ठाकरेको जीवनीमा आधारित चलचित्र ‘ठाकरे’को ट्रेलर सार्वजनिक भएसँगै अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि बायोपिक बन्ने भएको छ । 

बलिउडमा राजनीतिमा आधारित चलचित्र बन्ने क्रम पहिलेदेखि नै चलिआएको हो । सोही क्रममा मोदीको जीवनी पनि पर्दामा उतारिँदै छ । 

बलिउड लाइफको खबरअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्रको सुटिङ जनवरी २०१९ बाट सुरु हुनेछ ।

चलचित्रमा मोदीको भूमिकामा अभिनेता विवेक ओवराय देखिनेछन् । विवेकले चलचित्रका लागि आवश्यक तयारी सुरु गरिसकिएको बताइएको छ ।

लामो समयपछि फेरि चलचित्रमा देखिने भएका विवेकले मोदीको भूमिका आफ्नोलागि अहिलेसम्मको चुनौतिपूर्ण भएको र यसले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रको सुटिङ दिल्ली, गुजरात, हिमाञ्चल प्रदेश र उत्तराखण्डमा हुने बताइएको छ । हिन्दी चलचित्र मेरीकोमका निर्देशक उमंग कुमारले निर्देशन गर्ने भनिएको यस चलचित्रको नाम भने अहिलेसम्म तय भइसकेको छैन । चलचित्रको नाम र कलाकारहरु छिटै सार्वजनिक गरिने बलिउड लाइफले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्