मसाज गराउन गएकी बेलायती महिलामाथि होटलमा यौन शोषण



भारत: भारतको चण्डिगढस्थित एक होटलमा बेलायती महिलामाथि यौन शोषणको घटना सार्वजनिक भएको छ । महिलाले आफूमाथि होटलकै कर्मचारीले यौन शोषण गरेको आरोप लगाएपछि प्रहरीले बलात्कारको मुद्दा दायर गर्दै अभियुक्तको खोजी सुरु गरेको छ ।

 

प्रहरीका अनुसार यो घटना चण्डिगढको इन्फर्मेशन टेक्नोलोजी (आईटी) पार्कस्थित एक होटलमा भएको हो । बेलायती महिलाको उमेर ५० देखि ६० वर्ष रहेको बताइएको छ । महिलाका तर्फबाट गरिएको उजुरीमा २० डिसेम्बरमा मसाज गराउन होटलमा गएको र सोही क्रममा यौन शोषण भएको उल्लेख गरिएको छ । महिलाले २८ डिसेम्बरमा आइटी पार्क प्रहरीमा एफआईआर दर्ता गराएकी हुन् ।

 

यस मामिलाको जाँच गरिरहेका प्रहरी अधिकारी हरजीत कौरले प्रहरीले अभियुक्तको खोजी जारी राखेको जनाएका छन् । प्रहरीले अभियुक्तको उमेर २० वर्ष उल्लेख रहेको र उनी सहरको बाहिरी इलाकामा रहेको कोलोनीका बासिन्दा भएको जनाएको छ ।

 

प्रहरीले अधिकारीले यो घटनामा यौन सम्बन्ध नभएको तर कानुनअनुसार बलात्कारका मुद्दा दायर गरिएको जनाएको छ । प्रहरी अधिकारी कौरले भने, ‘यो घटनामा औलाको प्रयोग भएको छ । देशका संशोधित बलात्कार कानुनअनुसार यो मामला पनि आईपीसीको धारा ३७६ अनुसार दर्ता हुनेछ ।’

 

बलात्कार कानुनमा यो परिवर्तन दिल्लीमा भएको निर्भया बलात्कार घटनापछि भएको थियो । प्रहरी अधिकारी हरजित कोरले पीडित महिलाले लगातार प्रहरीलाई सहयोग गरिरहेको जनाएका छन् । उनी आफ्नो साथीसँग बेलायतबाट चण्डिगढ आएकी थिइन् ।

 

कौरले पीडित महिला आफ्ना साथीसँग सहर बाहिर गएको र उनी भारतमा छन् या छैनन् भन्ने जानकारी प्रहरीलाई नभएको पनि बताएका छन् । प्रहरीले महिलासँग यसअघि नै बयान लिएको पनि जनाएको छ । प्रहरीले होटलको सीसीटीभी फुटेज समेत जम्मा गरेको छ र होटलका कर्मचारीको बयान पनि लिएको छ ।

 

भारतमा पछिल्लो १० दिनमा यौन शोषणको यो प्रकारको दोस्रो घटना बाहिर आएको हो । यसअघि गोवामा पनि बेलायती ४८ वर्षीया पर्यटकमाथि बलात्कार लुटपाटको घटना बाहिर आएको थियो । भारतमा महिला सुरक्षाका लागि कानुनमा कडाई गरिएको भएपनि हिंसा, बलात्कार र यौन शोषणजस्ता घटनामा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्