प्रदेश २ सरकार ढल्ने हल्ला मनगढन्त : मन्त्री साह 



राजविराज : संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारको संरचनामा तत्काल कुनै फेरबदल नहुने दाबी गरेका छन् ।

उनले प्रदेश सरकार आफ्नो नीति तथा कार्यक्रमअनुरूप काम गरिरहेको उल्लेख गर्दैै जनआकांक्षाअनुसारको फोरम–राजपा गठबन्धनको सरकार परिवर्तन नहुने बताए । केही समययता विभिन्न सञ्चारमाध्यममा प्रदेश २ सरकारको मुख्यमन्त्री परिवर्तन हुने र नेकपा–फोरम गठबन्धनको नयाँ सरकार गठन हुने समाचार आइरहेका बेला साहले यस्तो सम्भावनालाई अस्वीकार गरेका हुन् ।

 

पार्टीको राजविराज नगर समितिको भेलामा साहले फोरम–राजपा गठबन्धन सरकारको लोकप्रियताबाट निराश र थकित भएका नकारात्मक शक्तिहरूले सरकार ढल्ने भ्रामक र मनगढन्त प्रचारबाजी गराएको आरोप लगाए । 

उनले यस्तो निराधार हल्लाको पछाडि नलाग्न समेत पार्टी नेताकार्यकर्तालाई सचेत गराए ।

 

प्रदेश २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका साहले मोजुदा सरकारलाई रचनात्मक तथा परिणाममुखी काम गर्नेतर्फ अग्रसर गराउन राजनीतिक दलको ठूलो भूमिका हुने भएकाले सरकारलाई सफल बनाउन आफ्नो योगदान दिन पार्टी कार्यकर्तासँग आग्रह गरे ।

 

भेलामा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष रेणु यादवले आफूहरूसँग भएको सम्झौताबमोजिम संविधान संशोधन नभए पार्टी सरकारमा नबस्ने बताइन् । सविधान संशोधन गरी मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताको ग्यारेन्टीसहितको सहमति भई पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै यादवले चालू हिउँदे अधिवेशनमा संविधान संशोधन गर्ने प्रस्ताव सरकारले नलगे पर्टी सरकारमा नबस्ने बताए ।

 

संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा तराई मधेश प्रदेश समितिका मुख्यसचिव शम्भु झा, सदस्य युसुफ अली, जिल्ला इन्चार्ज सत्यनारायण यादव, जिल्ला अध्यक्ष दिनेशकुमार यादव, सचिव केदारप्रसाद यादव, राजनीतिक समिति सदस्य कैलाश यादव, केन्द्रीय सदस्य चित्तनारायण यादव, शैलेश चौधरी, सुर्यनाथ यादव, उमेश यादव, अशोक यादव, पूर्व सांसद लक्ष्मी चौधरीले आआफ्ना धारण व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्