गीत गाउँदा र मादल बजाउँदा बस दुर्घटना : मन्त्री महासेठ



काठमाडौं : यातायात तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले दाङमा विद्यार्थी चढेको बस दुर्घटना हुनुको कारण बसभित्र विद्यार्थीले गीत गाउँदै रमाइलो गर्नु भएको बताएका छन् ।

उनले बस दुर्घटनामा चालकको दोष नदेखिएको प्रस्ट पारेका छन् । 

पिकनिकबाट फर्किरहेका विद्यार्थीले बसभित्र गीत गाउँदा र मादल बजाएर रमाइलो गर्दा चालकको ध्यान विकेन्द्रित भएर बस दुर्घटना भएको हुनसक्ने उनले बताए । संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बढ्दो सवारी दुर्घटना र ट्राफिक दुर्घटनाबारे जानकारी दिने क्रममा मन्त्री महासेठले दाङमा भएको दुर्घटनाबारे बताएका हुन् । 

मन्त्री महासेठले उक्त बसको चालक पुरानो र अनुभवी भएको र गाडी चलाउँदा लापरवाही नगरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । उनले कतिपय अवस्थामा भने तीव्र गतिका कारण दुर्घटना हुने गरेको पनि जिकिर गरे ।

 

दुर्घटना भएको ठाउँमा पहिलेपनि धेरै पटक दुर्घटना भएको भन्दै मन्त्री महासेठले सडक दुर्घटनाका कारण पत्ता लगाउन मन्त्रालयका सहसचिव सरोज प्रधानको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको पनि जानकारी दिए । समितिले एक महिनामा प्रतिवेदन दिने महासेठले बताएका छन् । 

केहीदिन पहिले दाङको कृष्णसेन स्मृति बहुप्राविधिक विद्यालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जना विद्यार्थीको मृत्यु भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्