लोकमार्ग आसपास होटल बढे, लगानी थपियो



तेह्रथुम: निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ ।

 

व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र होटलहरुमा लगानी गर्न थालेका हुन् ।

 

सडक आसपासका स–साना बजारहरुमा रहेका होटलहरुले समेत लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको उनीहरु बताउँछन् । मध्य पहाडी लोकमार्गको करीव १३५ किलोमिटर खण्ड तेह्रथुममा मात्रै पर्छ ।

 

यो सडक आसपासका बस्तीहरुले समेत बजारको रुप लिने क्रम बढेको छ । सडक आसपासका मुख्य व्यापारिक केन्द्रहरु सक्रान्ति, म्याङलुङ्ग, वसन्तपुर, जिरिखिम्ती, लसुनेलगायत बजारहरु तीब्र गतिमा फैलिँदैछन् ।

 

यस्तै, सानो बस्तीको रुपमा रहेका चुहानडाँडा, इवा, छातेढुङ्गा, सक्रान्ति, ओयाक्जुङ, इसिवु, हलिमेला लगायत गाउँमा पनि शहरीकरण बढ्दो छ । शहरीकरण हुँदै गरेका ती बजार र पर्यटकीय सम्भावना भएका ठाउँहरुमा होटल र रिसोर्टहरु खोलिएका हुन् ।

 

स्थानीयबासीकै लगानीमा समेत सडक आसपास साना–ठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम शुरु भएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताए । 'ठाउँठाउँमा ग्रामीण बजारको विस्तार र व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भएको छ,' उनले भने । लोकमार्गको खोरुंगा खोला नजीकै खोरुंगा खोला रिसोर्ट खुलेको छ ।

 

स्थानीय दुई युवा दाजुभाइले ४० लाख रुपैयाँ भन्दा बढी लगानी गरी खोलेको रिसोर्ट अहिले आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ हुने गरेको छ । सदरमुकाम म्याङलुङ्ग नजीकै भएकाले पनि साताको शनिबार रिसोर्टमा भीड लाग्छ । खोरुंगामा पौडी खेल्ने, माछा खाने, घुम्ने र रमाइलो गर्नेहरु खोलामा पुग्ने गर्छन् ।

 

म्याङलुङ र जिरिखिम्ती बजारको मध्यभागमा टुक्रे नजीकै बगाले होटल खुलेको छ झण्डै एक करोड रुपैयाँको लगानीमा । लसुने बजार नजीकै दुई वर्षयता पर्यटक लक्ष्यित कालापानी रिसोर्ट सञ्चालित छ । उच्च पहाडी क्षेत्रमा पाइने ट्राउट माछाको व्यावसायिक पालनसहित सञ्चालित सो रिसोर्ट पनि पर्यटकलाई सत्कार गर्न व्यस्त रहन्छ ।

 

लोकमार्गले गाउँमा बढिरहेको बसाइसराई रोकेको छ भने यहाँ कमाएर जिल्ला बाहिर लगानी गर्नेहरु घटेका छन् । नेपाल र भारतको सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने यो सडक खण्ड निर्माणसँगै गाउँमा विकासको लहर शुरु भएको समन्वय समितिका प्रमुख ढुंगानाको भनाइ छ । लोकमार्गले छोएका गाउँमा जग्गाको मूल्य समेत अकाशिएको छ ।

प्रतिक्रिया दिनुहोस्