४७ किलोमिटर लामो फिस्लिङ–शक्तिखोर सडकको शिलान्यास



चितवन: जिल्लाको पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ–शक्तिखोर सडकको सोमबार शिलान्यास गरिएको छ । शक्तिखोर बजार नजिकै चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले सडकको शिलान्यास गरेका हुन् ।

 

एसियाली विकास बैंकको अनुदान सहयोगमा निर्माण हुने सो सडक ४७ किलोमिटर लामो हुनेछ। जसमध्ये शक्तिखोरदेखि तोलाङसम्मको ३७ दशमलव शून्य ७ किलोमिटर सडक निर्माण गर्न लागिएको हो। तोलाङबाट फिस्लिङसम्म यसअघि नै सामान्यरुपमा सडक निर्माण गरिएको छ ।

 

सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्जी र नेपालको आशिष निर्माण सेवाले पाएका छन्। ७८ करोड ९६ लाख रुपैयाँको लागतमा सडक निर्माण गर्ने गरी सम्झौता भइसकेको छ। यद्यपि सडकलाई फिस्लिङसम्म जोड्नुपर्ने, कालोपत्रेको चौडाई बढाउनुपर्ने लगायतका कारण नक्साङ्कन फेरबदल हुनसक्ने बताइएको छ ।

 

ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजालका अनुसार नालीसहितको सडकको चौडाई ७ दशमलव २५ मिटर हुनेछ। अहिलेको ठेक्का सम्झौतानुसार ३ दशमलव २५ मिटर फराकिलो कालोपत्रे गर्ने भनिएको छ। यद्यपि सम्झौतामा केही फेरबदल गरी कालोपत्रे ५ मिटर पुर्याउने विषयमा छलफल भइरहेको उनले बताए ।

 

सो सडकमा दुई ठाउँमा पुल र दुई ठाउँमा कजवे निर्माण गर्नुपर्ने हुन्छ। ती काम भने ठेक्कामा समावेस छैनन्। सडकको चार किलोमिटर बाहेकका ठाउँमा सामान्य बाटो (ट्रयाक) खोलिसकिएको छ। सडकलाई तीन भागमा विभाजन गरेर निर्माणको काम तीब्ररुपमा गरिने रिजालले बताए ।

 

काम गरेको ७ सय ३० दिनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । सडकको शिलान्यास समारोहमा सांसद पोखरेलले ग्रामीण क्षेत्रका जनतालाई यो सडक वरदान सावित हुने बताए। सो क्षेत्रमा चेपाङ जातिको बाहुल्यता रहेको बताउँदै उनले ती जातिको जीवनस्तर उकास्न सडक सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजाललगायतले सो सडकको महत्वमाथि प्रकाश पारे। सडक शक्तिखोर नगरपालिका र इच्छाकामना गाउँपालिका हुँदै पृथ्वी राजमार्गमा जोडिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्