पोखरामा पनि मिथिला पेंटिंग्स, हेर्नेको घुइँचो



जनकपुरधाम : पोखराको त्रिभुवन युनिभर्सिटीबाट सम्बन्धनप्राप्त पश्चिमाञ्चल इन्जििनियरिङ कलेज पार्कमा हिजोआज कोरिँदै गरेको मिथिला पेंटिंग्स हेर्न विद्यार्थीको लाम लाग्ने गरेको छ । क्याम्पस प्रशासनले  ३६ वर्षपूर्व पार्कका लागि भन्दै सतराई सिर्जन समाजलाई उपलब्ध गराएको जग्गामा कलाकार विजय दत्त मणिले मिथिला पेंटिंग्स बनाउँदैछन् ।  

समाजका अध्यक्ष वैभव ठाकुरले टिसिसी पार्कमा मिथिला पेंटिंग्सका लागि  जनकपुरका ख्यातिप्राप्त कलाकार दत्तलाई बोलाइएको बताए ।  पोखराको लामचौरमा रहेको इन्जिनियरिंग क्याम्पसमा बन्न लागेको पार्कमा मिथिला आर्टका माध्यमले ‘सीतायन’ कोर्न लागिएको हो ।

पार्कमा रहेको स्तम्भका चार कुनामा सीता जन्म, सीताले धनुष उठाएको, सीता स्वयंवर  र सीता पातालमा गएको दृश्य मिथिला पेंटिंग्सद्वारा देखाइने कलाकार दत्तले द नेपालटपलाई जानकारी दिए ।

कलाकार मणिका अनुसार पोखरामा रहेका तराईमूलका विद्यार्थीको आग्रहमा पुस १४ गतेदेखि पेंटिंग्स बनाउन सुरु गरिएको र १८ गते बुधबारसम्म पेंटिंग्स कार्य सम्पन्न हुनेछ ।

पोखरा क्याम्पसमा रहेको पार्कमा बनाउन लागिएको सीता स्वयंवर पेंटिंग्स हेर्न अहिले अन्य कलेजका विद्यार्थीसमेत आउने गरेको समाजका अध्यक्ष ठाकुरले वाताए ।

निर्माणाधीन टिसिसी पार्कलाई विधिवत उद्घाटनका लागि प्रदेश २ का मुख्यमन्त्रीलाई आग्रह गरिने पनि ठाकुरले बताए ।

निर्माण भइरहेको उक्त पार्कमा बनाइएको स्तम्भको माथिल्लो भागमा जानकी मन्दिर झल्किने खालको गुम्बज राखिनेछ र बेसमा अहिले चौतर्फी मिथिला पेंटिंग्स कोरिँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्