संविधान संशोधन एजेन्डा, संकटमा राजपा



काठमाडौं:  एक साताअघि प्रधनामन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्षमण्डलका नेताबीच संविधान संशोधन विषयमा छलफल भयो । सात दिनभित्रमा समाधानमा पुग्ने सूत्र खोज्ने सहमति पनि भयो ।

 

तर, सहमतिको सात दिनपछि भने दुवै पक्ष यो विषयमा बेखरजस्तै छन् । संशोधनको माग गर्ने दलले यो विषयमा खासै चासो प्रकट नगरेको सरकारको भनाइ छ भने चासो राख्ने दल राजपा आन्तरिक विवादका कारण सरकारसँगको पछिलो सहमति नै सम्झन सक्ने अवस्थामा छैन ।

 

संविधान संशोधनको अडानमा अडिग रहेको राजपा नेपालका नेतासँग प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक छलफलका लागि एक साताको समय मागेका थिए । १० पुसमा भएको छलफलपश्चात् एक साताको समय यतिकै बितेको छ भने दुवै पक्ष बेखबर छन् ।

 

छलफलमा सहभागी राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संविधान संशोधनको विषयमा आन्तरिक छलफलका लागि प्रधानमन्त्रीले एक साताको समय माग गरेको बताएका थिए ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले संविधान संशोधनसहित राजपाको माग विभिन्न विषयसँग जोडिएकाले केही ढिलाइ भएको बताए । तर, ढिलाइ भए पनि प्रधानमन्त्री ओली राजपाको मागप्रति सकारात्मक रहेको उनले बताए ।

 

‘राजपा नेताले भनेजस्तै प्रधानमन्त्रीज्यूले सात दिनको समय माग्नुभएको होइन, यद्यपि उहाँहरूको मागप्रति प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ अर्यालले भने, ‘राजपाको माग बहुआयामिक भएकाले विभिन्न विषयमा आन्तरिक रूपमा छलफल चलि नै रहेको होला ।’

 

कतिपय माग सरकारले पूरा गर्नेसँग नजोडिएकाले सबै विषयमा सरकारलाई घचेट्नु राम्रो नभएको उनले बताए । केही विषय सरकारले गर्ने र केही सरकारसँग नै नजोडिएकाले विभिन्न पक्षसँग छलफल गरेर अघि बढ्नुपर्ने उनले बताए ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा गत मंगलबार प्रधानमन्त्री ओली र राजपा नेपाल अध्यक्षमण्डलका नेताका बीचमा छलफलपश्चात् दुवै पक्षका नेता खुसी देखिन्थे । राजपा नेपाल अध्यक्षमण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सूचना पाएलगतै प्रधानमन्त्री ओलीले राजपा नेतालाई छलफलमा बोलाए पनि दुवै पक्ष सकारात्मक देखिए ।

 

प्रधानमन्त्री ओलीसँगको छलफलमा राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा सहभागी थिए ।अध्यक्षमण्डलका राजकिशोर यादवले संविधान संशोधनको सर्तसहित सरकारलाई समर्थन दिएको बताए । एक साताअघि छलफल भएको बताउँदै उनले पार्टीको अब बस्ने बैठकले के गर्ने भन्ने निर्णय गर्ने बताए । संशोधनको सर्तसहित सरकारलाई समर्थन गरेको राजपा नेपालले माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले चासो नदिएको आरोप लगाउँदै आएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्