मधेसमा योगदान पुर्‍याउने सय जनालाई सम्मान गरिने



काठमाडौं : मधेसी पत्रकार समाजले मधेसका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका एक सय जनालाई सम्मान गर्ने भएको छ । काठमाडौंको थापाथली क्याम्पसमा पत्रकार सम्मेलन गर्दै समाजले ‘द १०० हिरोज अफ मधेस’ कार्यक्रमको घोषणा गरेको हो ।  

मधेसमै वा अन्य कुनै ठाउँमा बसेर मधेसका लागि योगदान दिने सय जनाको पहिचान गरी सम्मान गरिने समाजका अध्यक्ष मोहन सिंहले जानकारी दिए । 

‘द १०० हिरोज अफ मधेस’ कार्यक्रमकालागि अहिले व्यक्ति पहिचानको काम भइरहेको छ । ‘विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएका व्यक्ति खोजी र अनुसन्धानको काम सुरु गरिसकेका छौँ’ अध्यक्ष सिंहले भने, ‘५० जना भोटिङबाट तथा ५० जना क्षमता मूल्याङ्कनका आधारमा छनोट गरिनेछ ।’

अध्यक्ष सिंहका अनुसार विभिन्न १० विधाका १०/१० जनालाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ । यस कार्यक्रमका सम्पूर्ण गतिविधि ‘द १०० हिरोज अफ मधेस’ को फेसबुक पेजबाट सार्वजनिक हुने अध्यक्ष सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्