मलेसियाबाट फर्किएका युवाहरु संगठित



काठमाडौं: सरकारले विदेशबाट फर्कने नेपाली युवालाई प्रदान गर्ने रु दश लाखबाट आफूले सिकेको सीपलाई सदुपयोग गराउने उद्देश्यका साथ मलेसियाबाट फर्किएका युवाको पहिलो राष्ट्रिय भेला आज सम्पन्न भएको छ।

 

स्वरोजगारबाट देशको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो। ‘मलेसिया रिटर्नी समाज नेपाल’ देशका ७७ वटै जिल्लाबाट मलेसियामा गई रोजगारी गरेर फर्किएका युवाका लागि सो भेलाको आयोजना गरेको हो।

 

विशेष गरी खाडी मुलुकमा गएर फर्किएका नेपाली युवाका पक्षमा नेपाल युवा परिषद्ले गरेको प्रयासबाट नै रु १० लाख सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताए। ‘विकसित मुलुकमा बस्ने नेपालीले आफू नेपाली भएकामा आफैँलाई धिक्कार्छन्, तर जो खाडी मुलुकमा गएर काम गर्छन्, उनीहरु समृद्ध नेपालको सपना लिएर स्वदेशमै फर्कन्छन्’, ढुङ्गेलले भने।

 

युवा परिषद्को तथ्याङ्कअनुसार २४ प्रतिशत अर्धदक्ष जनशक्ति विकसित मुलुकमा छन् भने ७० प्रतिशत युवा खाडीमुलुकमा काम गरिरहेका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निःशुल्करुपमा फारम वितरण गराउँदा पनि ठगीका घटना अगाडि आइरहेको बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठले जानकारी दिए। ‘नेपालभित्रै श्रमको सम्मान गर्ने परिपाटीको विकास हुने हो भने सायद कुनै पनि युवालाई विदेश जानुपर्ने थिएन् होला’, उनले भने।

 

नेपालभित्रै उद्यमशीलताको विकास गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनःविदेश जाने बाध्यात्मक स्थितिबाट माथि ल्याउन सचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिटर्नी समाज नेपालका बुद्धि भट्टराईले जानकारी दिए।

 

भेलाले वैदेशिक रोजगारीबाट फर्किएकालाई एकत्रित गरी समूह गठन गरेर आप्रवासीको राष्ट्रिय सञ्जाल गठन गर्ने, विदेशबाट फर्किएकाको परिवारमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने, विदेशबाट फर्किएकाको सामूहिक लगानीको सम्भावना खोज्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारलाई नीतिगत तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने एवम् विदेशबाट सिकेको सीप, अनुभव र लगानीलाई देश विकासमा लगाउन रणनीतिक बहसमार्फत सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सुझाव पेश गर्ने उद्देश्यसमेत भेलाको छ।

 

भेलाले २१ जनाको कार्यसमितिसमेत चयन गरेको छ। अध्यक्षमा राजेश श्रेष्ठ, उपाध्यक्षमा विनोद खड्का, महिला उपाध्यक्षमा कोपिला कार्की, महासचिवमा रामचन्द्र नेपाल, सचिवमा विष्णुहरि भण्डारी र कोषाध्यक्षमा प्रकाश क्षेत्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्