अब भारतीय सेनाले नुहाउन तीन महिना कुर्नु नपर्ने



नयाँ दिल्ली: युद्ध क्षेत्र सियाचिन ग्लेशियरमा तैनाथ रहेका भारतीय सैनिकले नुहाउन ९० दिनभन्दा लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने भएको छ ।

 

सियाचिनमा भारतीय सेनाको टोली २१ हजार फिटभन्दा माथि तैनाथ छ । अत्यधिक चिसोका कारण भारतीय सैनिक ननुहाइ बस्ने गर्दछन् । माइनस ५० डिग्री सेल्सियससम्म तापक्रम हुने भएकाले चिसोबाट बच्न सैनिकहरुले विशेष प्रवन्ध गर्नु पर्दछ ।

 

प्रतिकुल मौसमका कारण सियाचिनमा भारतीय सेनाको टोली तीन महिनामा परिवर्तन गरिन्छ । त्यहाँ तैनाथ रहँदा भारतीय सैनिक ननुहाइ बस्नुपर्ने अवस्था छ ।

 

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार ‘बडी हाइजिन’सम्बन्धी उत्पादन प्रयोग गरेर सियाचिनमा रहेका भारतीय सैनिकले अब हप्तामा कम्तीमा दुई दिन नुहाउन पाउने भएका छन् । यस्तो उत्पादनअन्तर्गत २० मिलिलिटर ‘जेल’ ले एकजनालाई नुहाउन पुग्ने बताइन्छ ।विकट हिमाली क्षेत्र भएका कारण त्यहाँ इन्धन प्रयोग गरेर हिउँ पगालेर नुहाउन सम्भव नहुने अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्