प्रधानन्यायाधीश राणाले गरे राष्ट्रपतिबाट  शपथ ग्रहण



काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । आज बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई सपथ खुवाएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत सहभागी भएका थिए ।

 

उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा उनले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि राणासँगै दीपकराज जोशीको नाम पनि सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएका जोशीको नाममा यसपटक सुनुवाइ समितिमा छलफलसमेत भएन ।

 

राणा प्रधानन्यायाधीशका निर्विकल्प दाबेदार थिए । राणा न्यायाधीश भएको १८ वर्षपछि सर्वोच्चको न्यायाधीश बनेका हुन् । ३० चैत ०५२ मा पुनरावेदन अदालत विराटनगरमा अस्थायी न्यायाधीश सिफारिस भएका उनले ०७१ मा सर्वोच्चमा प्रवेश पाएका थिए । राणा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्