कैलाली उद्योग वाणिज्य संघमा तीन प्यानल भिड्ने



कैलाली : कैलाली उद्योग वाणिज्य संघको पुस २८ मा हुने निर्वाचनका लागि तीनवटा समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । संघका अध्यक्षका लागि वर्तमान महासचिव रूपेश स्वाँर, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थीले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् ।

प्यानलसहित मनोनयन दर्ता गरेकाहरूले आआफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । अवस्थीको प्यानलमा दुईजना सदस्यको मनोनयन दर्ता भएको छैन ।

निर्वाचन कार्यतालिका अनुसार संघमा उम्मेदवारी दर्ताका लागि दिइएको बुधबार बिहान ९ वजेदेखि ११ बजेको समयमा महासचिव रूपश स्वाँरको प्यानलले मनोनयन दर्ता गराएको हो ।

संघका मुख्य सात पदाधिकारीसहित ११ सदस्यमा प्यानलसहित बुधबार निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो ।

रूपेश स्वाँर अध्यक्ष उम्मेदवार रहेको प्यानलबाट वाणिज्य उपाध्यक्षतर्फ गजराज पाण्डेय, उद्योग उपाध्यक्षतर्फ टेकबहादुर खड्का, वस्तुगत उपाध्यक्षतर्फ अनिलकुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा, सचिवमा सुजित शर्मा मनोनयन दर्ता गराएका छन् ।

यसैगरी सदस्यहरूमा ११ जनाले निर्वाचन समितिमा मनोनयन दर्ता गराएका छन् ।

सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक बोहोरा, रूपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, वसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज बोहोरा छन् ।

मनोनयन दर्तापछि अध्यक्ष पदका उम्मेदवार स्वाँरले आफू जहिले पनि व्यवसायीका पक्षमा लागेका कारण आफूलाई व्यवसायीले मत दिने बताए । उनले संस्थाको हित र यस क्षेत्रको विकासका लागि आफू सधैं तत्पर रहेको बताए ।

त्यस्तै वर्तमान कोषाध्यक्ष कुँवर अध्यक्ष रहेको प्यानलमा उद्योगतर्फ उपाध्यक्षमा पुष्कर ओझा, वाणिज्यतर्फ उपाध्यक्षमा गगन केसी, वस्तुगततर्फ उपाध्यक्षमा शिवराज कुँवर, महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले मनोनयन दर्ता गरेका छन् ।

११ जना सदस्यका लागि मनोनयन दर्ता गराउनेमा तिलकचन्द्र खतिवडा, टोपबहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार बोहरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंह छन् ।

मनोनय दर्तापछि अध्यक्ष पदका उम्मेदवार कुँवरले आफूलाई कैलालीका धेरै व्यवसायीको सर्मथन भएका कारण जित्नेमा ढुक्क भएको बताए । उनले आफूसँग ३ जना पूर्वअध्यक्षको साथ रहेका कारण सबै व्यापारीलाई एकढिक्का बनाएर लैजाने बताए ।

सदस्य अवस्थीले पनि २ जना सदस्यबाहेक आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गरेका छन् । उनले कैलाली उद्योगवाणिज्य संघमा देखिएको फर्जी सदस्यताको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए । निष्पक्ष र वास्तविक व्यवसायीले आफू र आफ्नो टिमलाई मत दिने उनको भनाइ छ ।

निर्वाचन कार्यातालिकाअन्तर्गत पुस १९ गते उजुरी छानबिन, १९ र २० गते बिहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता र पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि पुस २८ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानका लागि निर्वाचन कार्यतालिका बनाइएको छ । 

संघको निर्वाचनमा दुई हजार सात सय ४ जनाले मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्