राउटेको पीडा : कुलपूजा नगरे ‘सबै पुरुष मर्ने त्रास’, गरौं भने खसीबोका छैन



काठमाडौं : फिरन्ते जीवन बिताउने राउटे समुदायको कुलपूजा आवश्यक सामग्रीको जोहो समयमै हुन नसक्दा यो वर्ष ढिलो सुरु भएको छ।

प्रत्येक वर्ष मंसिर महिनाको दोस्रो साताभित्रै कुलपूजा गरिसक्ने परम्परा भए पनि यसपालि मंसिर २८ मा कुलपूजा गर्ने निर्णय भएको थियो।

तर आवश्यक सामग्री जुटाउन नसक्दा उक्त मितिमा कुलपूजा गर्न नसकिएको राउटे मुखिया सूर्यनारायण शाहीले बताए।

अहिले दैलेखको गुराँस गाउँपालिकाको सतुवाचौरमा ४६ घरपरिवारका १५० राउटेहरू बसिरहेका छन्।

किन भयो ढिलो?

राउटे मुखिया शाहीका अनुसार कुलपूजामा चाहिने खसीबोका र कुखुरा नजुटेपछि सोमवारका लागि पूजा सारिएको हो।

उनले भने, “कुलपूजाको लागि सरकारसँग खसीबोका मागेका थियौँ, नदिएपछि आफैँले किन्दा ढिला भयो।”

खसीबोका र कुखुराको बली दिएर आफ्ना कुलदेवता मस्टोको पूजा गरिने शाही बताउँछन्।

पूजा गर्दा राउटे समुदायका प्रत्येक घरले अनिवार्य रूपमा खसीबोका र कुखुरा काट्ने गर्छन् ।

राउटे

कुलपूजा आफ्नो ठूलो पर्व भएकोले यसलाई चार-पाँच दिन धुमधामसँग मनाउने गरिएको अर्का मुखिया वीरबहादुर शाहीले बताए।

उनले भने, “बस्ती नजिकैको जङ्गलमा खसीबोका र कुखुरा काटेर कुलपूजा गरिसकेपछि चेलीबेटीलाई बोलाएर खुवाउने र नाचगान गरी रमाइलो गर्छौँ।”

कुलपूजाका लागि अस्पतालबाट गाउँ

कुलपूजा गर्दा समुदायको कुनै पनि सदस्य घरबाहिर हुनुहुँदैन भन्ने राउटेहरूको मान्यता छ।

जहाँसुकै भएपनि कुलपूजा गर्दा राउटेहरू अनिवार्य रूपमा बस्तीमा फर्किने गरेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी बताउँछिन्।

“काठमाण्डूमा उपचार गरिरहेका राउटे युवा कपिल शाहीलाई बस्तीमा ल्याएका छौँ,” उनी भन्छिन्, “कुलपूजा सकिनेबित्तिकै फेरि उपचारको लागि लैजान्छौँ।”

कुलपूजा गरेन भने समुदायका पुरुष सदस्यहरू अप्ठ्यारोमा पर्ने विश्वास राउटे समुदायमा छ।

“पुर्खादेखि चलिआएको कुरा हो, मान्नैपर्‍यो,” राउटे मुखिया वीरबहादुर शाहीले भने, “बाजेबराजुले कुलपूजा नगरे सबै पुरुषहरू मर्छन् भनेकै कारण यसलाई छोड्न सकेका छैनौँ।”

यसपालि कुलपूजाको लागि राउटेले सामाजिक सुरक्षा भत्ता बुझेर खसीबोका र कुखुरा किनेको राउटे बस्तीमा खटिएका स्वास्थ्यकर्मी विनोद बिसीले बताए।

उनी भन्छन्, “कुलपूजाको लागि खसीबोका सरकारले दिन्छ कि भन्ने आशा गरेका थिए, तर सरकारले नदिएपछि आफैँ किन्न बाध्य भए।”

राउटे

एउटा घरपरिवारले ३,००० देखि ३०,००० रुपैयाँसम्म भत्ता बुझेका राउटेहरूले कुलपूजाका लागि ४,५०० देखि १५,००० रुपैयाँसम्मको खसीबोका किनेको पनि बिसी बताउँछन् ।

‘अहिले धेरै दु:ख गर्नुपर्दैन’

पहिला कसैको भर नपर्दा पनि समयमै कुलपूजा हुने गरेको राउटेका अर्का मुखिया महिनबहादुर शाहीले बताए।

उनले भने, “पहिलापहिला कोसी (काठ वा माटाको भाँडो), मदुस (बाकस) बेचेको पैसाले खसीबोका किनेर कुलपूजा गरिन्थ्यो। अहिले सरकारले पैसा दिइहाल्छ, किन काम गर्ने? अहिले धेरै दु:ख गर्नुपर्दैन, राम्रो छ।”

दशैँ, माघी र कुलपूजा आफ्ना ठूला चाड भएको उनी बताउँछन्।

यसपालि कुलपूजाका लागि राउटेहरूले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग खसीबोका मागेका थिए।

खसीबोका नदिए पनि प्रत्येक घरलाई २५ केजी चामल, एक केजी नुन, दाल र तेल उपलब्ध गराइएको मन्त्रालयकी अधिकृत देवी सुवेदीले बताइन्।

गत वर्ष दैलेखको सोसेक संस्थाले खसीबोका दिएको राउटेहरू बताउँछन्।

राउटे

लोपोन्मुख समुदायको रूपमा रहेको राउटे समुदायलाई सरकारले प्रत्येक महिना प्रतिव्यक्ति ३,००० रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।

राउटे समुदायको सामाजिकीकरणमा सहयोग गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायले कुलपूजाका लागि राउटेले प्रदेश सरकारसँग ४६ वटा खसीबोका मागेको बताए।

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले कुलपूजाको लागि चाहिएला भनेर महिना नबित्दै भत्ता उपलब्ध गराइएको बताए।

“सरकारले चौमासिक रूपमा भत्ता पठाउँछ,” उनले भने, “तर गुराँस गाउँपालिकाले आफ्नै बजेटबाट राउटेलाई प्रत्येक महिनामा भत्ता दिँदै आएको छ।”

आधुनिक जीवनशैलीबाट टाढा

राउटेहरू आधुनिक जीवनशैली, शिक्षादीक्षा र खेतीपातीदेखि टाढै छन् ।

एउटा राष्ट्रसङ्घीय निकायको अध्ययनमा राउटेहरूले प्राय: कन्दमूल खाने र विभिन्न प्रजातिका बाँदरको सिकार गर्ने गरेको उल्लेख छ।

कर्णाली प्रदेश सरकारले राउटे समुदायको सामाजिकीकरणको लागि यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।

राउटे

यो रकम उनीहरूको स्वास्थ्योपचार तथा लत्ताकपडा आदिमा खर्च गरिने सामाजिक विकास मन्त्रालयले बताएको छ।

वर्षौँदेखि पश्चिम नेपालका अछाम, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, सल्यान र दाङका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरू आफूलाई “जङ्गलको राजा” दाबी गर्छन् ।

राउटेहरू आफू सोमवंशी, कल्याल र रास्कोटी गरी तीनवटा ठकुरी समुदायको भएको बताउँछन्।

काठका सामग्री बनाउन छाडे

पहिला राउटेहरूले आफूले बनाएका काठका सामग्री अन्नसँग साटेर जीविकोपार्जन गर्दै आएका थिए।

तर धेरैले अहिले त्यसो गर्न छाडेका छन्।

गत वर्ष राउटेहरूलाई दैलेखको गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेको थियो।

अहिले उनीहरूले स्थायी परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्।

राउटे समुदायको रेखदेख र संरक्षण गर्न गुराँस गाउँपालिकाले दुई कर्मचारी पनि खटाएको छ। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्