खाद्यले धान खरिद गरेपनि खुशी छैनन् किसान



वीरगञ्ज : सरकारले सोना मन्सुली धानको समर्थन मूल्य तोकेपछि खाद्य संस्थानले धान खरिद गर्न थालेपनि खरिदकेन्द्रसम्म धान ल्याउन सहज नहुँदा किसानहरु निराश बनेका छन् । सरकारले धानको समर्थन मूल्य नतोक्दा बिक्री गर्न नपाएर चिन्तित बनेका किसान खाद्य संस्थानले खरिद गर्न थालेपछि पनि संस्थानको गोदामसम्म धान ल्याउँदा बाटोमा अनेक व्यावधानहरु व्यहोर्नुपर्दा निराश बनेका हुन् ।

खाद्य संस्थानको वीरगञ्जस्थित क्षेत्रिय कार्यालयले अहिले सरकारले तोकेको समर्थन मूल्य २ हजार ६ सय ७३ रुपैयाँ १७ पैसा प्रतिक्वीण्टलमा किसानसँग धान खरिद गरिरहेको छ । त्यस्तै स्थानीय प्राथामिक खरिद समितिको निर्णय अनुसार जिरा मसिनो धान ३ हजार २० रुपैयाँ प्रतिक्वीण्टलमा धान खरिद गरिरहेको छ ।

तर, किसानले खाद्य संस्थानको गोदामसम्म ल्याउन टायर गाडा तथा ट्याक्टरबाट ढुवानी गर्नुपर्छ । यसरी ढुवानी गरेर ल्याएको धान स्थानीय सुरक्षा निकायले कागजपत्र चेकजाँच गर्ने बाहानामा दुःख दिने गर्दा उनीहरु धान बिक्री गर्न पाएर खुशी हुनुभन्दा प्रहरीले दिएको दुःखका कारणले दुखी भएका छन् । पर्साको धान उत्पादन अधिकांश सीमावर्ती क्षेत्रमा हुने गरेको छ । त्यही उत्पादन गरेको धान बिक्रीका लागि सदरमुकाम वीरगञ्जसम्म ल्याउदा बाटोमा सुरक्षाका लागि खटिएका प्रहरीले अनावश्यक दुःख दिने गरेको किसानको गुनासो छ । किसानले आफ्नो खेतमा उत्पादन गरेको धान बिक्रीका लागि ल्याउँदा पनि व्यापारीलाई जस्तो पान नम्बर खोज्ने र बिल विजक खोज्ने गरेकोले धान खरिदका लागि सरकारले दिएको सुविधा पनि फलामको चिउरा जस्तै किसानलाई भएको छ ।

पर्साको छिपहरमाई गाउँपालिकाका किसान सोहन साह भन्छन्, “सीमाक्षेत्रमा रहेको नेपालको भूमि बुडगाँई कटिसकेपछि नै नेपाल छ नि ! त्यही खेतबाट धान लिएर आउँदा प्रहरीले कागजपत्र खोज्छ । हामी किसानले खेतको धान लिएर आउँदा के को कागजपत्र दिने हजुर भन्दा प्रहरीले ट्याक्टर नै नियन्त्रणमा लिएर जान्छन् ।” यसरी प्रहरीले नियन्त्रण लिएर गएको ट्याक्टर सीमामा पक्राउ गरेको भनेर तुरुन्तै सञ्चार माध्यममा दिने गर्दा दुःख लागेको किसानहरुको भनाइ छ । उनी भन्छन्, “आज हामी १० मन २० मन धान किनेर खेती गरेको किसानलाई बिक्री गर्ने बेलामा धानको व्यापारी पनि पाउँदैन, व्यापारीहरु पुलिस प्रशासनलाई पनि पैसा दिनुपर्छ भनेर कम मूल्यमा नै धान खरिद खोज्छन् । यसरी कृषकलाई नै मर्का परेको छ । यो हेर्ने न कुनै प्रशासन छ । न कुनै नेता नै छ ।” गाउँपालिका प्रमुखदेखि प्रमुख जिल्ला अधिकारीलाई भन्दा समेत प्रहरीको ज्यादती नरोकिएको उनको भनाइ छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने खुला सीमानाका कारणले मूल्य घटबढ हुँदा वारिपारी ओसार पसार हुने प्रवृत्ति पूरानै भएकोले भारतीय धान नेपालतर्फ आएर नेपाली किसानलाई मर्का नपरोस भन्नका लागि नै निगरानी गर्नु परेको बताए । उनले नेपाली किसानलाई असहज नपार्न सुरक्षा निकायलाई निर्देशन गरेको पनि उनले बताए ।

खाद्य संस्थानले २ हजार ६ सय ७३ रुपैयाँमा धान खरिद गरेको सुनेपनि किसानसँग कुनै पान नम्बर, भ्याट नम्बर नहुँदा प्रहरीले नै पक्राउ गर्ने भयले सस्तैमा धान गाउँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानहरुले बताएका छन् । खाद्य संस्थान वीरगञ्जले यसवर्ष धान १५ हजार क्वीण्टल धान सोना मन्सुली र ५ हजार क्वीण्टल जिरा मसिनो धान खरिद गर्ने कोटा निर्धारण गरेको कार्यालय प्रमुख नरनाथ अधिकारीले बताए । उनका अनुसार सोमबारसम्ममा संस्थानले ६ हजार ८ सय ३९ क्वीण्टल ८२ केजी सोना र ३२ क्वीण्टल २० केजी धान खरिद गरिसकेको छ ।आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्