४४ महिनादेखि टहरोमा मच्छिन्द्रनाथ, तीन वर्षमा पनि सकिएन पुनर्निर्माण



ललितपुर : विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको ललितपुर महानगरपालिका–२६, बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण तीन वर्षसम्म पनि सकिएको छैन ।

 

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पको नौ महिनापछि (२ माघ २०७२ मा) तात्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीसँगै यो मन्दिर पुनर्निर्माणको सुरुवात गरेका थिए । उनी पुनः प्रधानमन्त्री बनेको लामो समय बितिसक्दासमेत यी दुवै ऐतिहासिक सम्पदाको पुनर्निर्माण सकिएको छैन ।

 

ठेकेदार कम्पनीमध्येको एक ढेगिनका सब–कन्स्ट्रक्टर सुवर्ण श्रेष्ठका अनुसार आगामी मार्चसम्ममा पनि मन्दिरको पुनर्निर्माण नसकिने भएकाले म्याद थप गर्ने तयारी भइरहेको छ । विनाशकारी भूकम्प गएको ४४ महिना बितेको छ ।

 

मन्दिर पुनर्निर्माण नहुँदा मच्छिन्द्रनाथलाई जोखिमपूर्ण ढंगले टहरोमा राख्नुपरेको छ । मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई बुङ्मतीस्थित मन्दिरमा राख्ने गरिन्छ । मच्छिन्द्रनाथ बुङ्मतीकै पहिचान बोकेको मन्दिर पनि हो । मन्दिर नहुँदा मच्छिन्द्रनाथको जात्रामा नै असर परेको स्थानीयको गुनासो छ ।

 

मच्छिन्द्रनाथको मन्दिर नबन्दा धार्मिक, सांस्कृतिक पहिचान बोकेको बुङ्मतीको अस्तित्वमै असर परेको स्थानीय सुरेन्द्र तुलाधर बताउँछन् । उनका अनुसार ६ महिना बुङ्मतीको मन्दिरमा मच्छिन्द्रनाथलाई राखिने भए पनि हाल मन्दिर नहँुदा भगवान्को मूर्तिलाई टहरोमा राख्नुपरेको छ । ‘टहरोमा जोखिमपूर्ण ढंगले राख्दा पहिचान दिन नै अप्ठेरो परेको छ,’ उनले भने, ‘पुनर्निर्माणका लागि विभिन्न सामग्री यत्रतत्र छरिएका छन् जसले गर्दा पूजा गर्न नै कठिन परेको छ ।’

 

श्रीलंका सरकारको सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणमा टेरा, ढेगिन र तुल्सी जेभीले सम्झौता गरी जिम्मेवारी लिएका हुन् । गत जुलाईमा दुई वर्षको ठेक्का सम्झौताको अवधि सकिएको हो । सम्झौतानुसारको अवधिमा नसकिएपछि पुरातत्व विभागले म्याद थप गरेको राजधानीमा खवर छ । विभागले थपेको म्याद पनि तीन महिनापछि सकिँदै छ । यसको म्याद २०१९ मार्चमा सकिने वडा नम्बर २६ का अध्यक्ष अमिरराज शाक्यले बताए । स्थानीय तहले भने विभाग र ठेकेदार कम्पनीले आफूहरूसँग कुनै समन्वय नगरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्