पूर्वप्रधानमन्त्रीहरूलाई टोपी



काठमाडौं: गणतन्त्रपछिका पाँच पूर्वप्रधानमन्त्रीलाई टोपी प्रदान गरी छैटौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ ।

 

नेपाली टोपी प्रतिष्ठानले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईलाई नेपाली टोपी लगाइदिएको हो । साथै पूर्वप्रधानमन्त्रीको हातबाट प्रतिष्ठानका सदस्यले समेत टोपी लगाएका छन् ।

 

त्यसक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रण्डले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको टोपी दिवसको सफलताको कामना गरेका थिए । कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सांस्कृतिक महत्व बोकेका यस्ता कार्यक्रमले नेपालीलाई एकताको सूत्रमा बाँध्ने र एक–आपसमा सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।

 

पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले पनि अभियानलाई सकारात्मक रूपमा लिँदै दिवसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको पहिचान जोगाउने विश्वास व्यक्त गरेको प्रतिष्ठानले जनाएको नयाँ पत्रिकामा खवर छ ।

 

नेपाली युवाले विगत ५ वर्षदेखि बर्सेनि जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आइरहेका छन् । नेपाली युवालाई आफ्नो पहिचानको संरक्षण र संवर्द्धन गर्नका लागि झकझक्याउन र नेपाली पहिचानलाई विश्वमाझ स्थापित गर्ने प्रयासका रूपमा यो दिवस मनाउने गरिएको आयोजकको दाबी छ । नेपालीहरूले आ–आफ्नो धर्म, जाति र संस्कृतीअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानिन्छ ।

 

गतवर्ष यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले, शंकर बन्जाडेलगायतले गैरनाफामूलक ‘नेपाली टोपी प्रतिष्ठान’नामक संस्था पनि गठन गरेका थिए । संस्थाले हालसम्म ३९ देशमा शाखा गठन गरिसकेको र अन्य देशमा गठन हुने प्रक्रियामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्