खोला र बगर ठेक्का दिने होड



काभ्रे : नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको प्रस्ताव पेस गर्ने अधिकार पाएका स्थानीय तहमा होडबाजी बढेको छ । 

जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमलाका अनुसार जिल्लाका ४४ खोला तथा बगरको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएका छन् । माम्ती खोला, सुनकोसी, इन्द्रावती खोला र आसपासका बगरमा ठेक्का लगाउन सकिने गरी वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको छ ।

रोशी, भुम्लु, तेमाल, चौरीदेउराली, बेथानचोक गाउँपालिका, पाँचखाल र मण्डनदेउपुर नगरपालिकाले प्रतिवेदन स्वीकृत गराएका छन् । रोशी गाउँपालिका १२ मा पर्ने माम्ती खोलाको ३ वटा साइटका लागि आईईई स्वीकृत भएको छ । मण्डनदेउपुर नगरपालिकाले ५ स्थानका लागि स्वीकृति प्रदान गरेको छ ।

भुम्लु गाउँपालिकालेआफ्नो क्षेत्रमा पर्ने सुनकोसी नदीको आमघाट कुपे बगर, डडुवा, बाधा, सिम्ले, गिरीघाट, रिठ्ठे, सिलामे, आमथली, पाटी, डुम्रे, बन्देउ बगर, इन्द्रावती नदीको देउपारेबगर, लामबगर, काफला गर्तिला बगरमा नदीजन्य पदार्थ उत्खखनको लागि आइईई स्विकृत गरेको छ । 

तेमाल गाउँपालिकाले सुनकोशी नदीको मास्तेवेशी, चिउरीचाँप, मुक्पाटार, ब्लेन्दे, भण्डारीबेंसी, लामबगर र चुखाबेंसी बगरलाई स्वीकृति प्रदान गरेको छ ।

चौरीदेउराली गाउँपालिकाले खहरेघाट बगर, नकाटी, पचवरघाट, कुडारी, आमबोटी, माझीफेदा, नागरी बगरमा र जगाती र दोभानटार बगरका दुई दुई स्थानमा नदीजन्य पदार्थ उत्खननका लागि आईईई स्वीकृत गरिसकेको छ ।

पाँचखाल नगरपालिकाले पनि साविक कोसीदेखा गाविस भएर हाल १३ नं वडामा पर्ने सुनकोसी नदीको तल्लो बगरमा ५४ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्न मिल्ने गरी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेर ठेक्का पनि लगाइसकेको छ । आईईई स्वीकृत भएका अन्य स्थानमा पनि ठेक्का लागिसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्