घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी



भक्तपुर : कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ । उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले बताए । 

उनले भने, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर बस्नुको विकल्प छैन ।” 

सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योलसमेत कर्मचारीमा छ । 

कर्मचारीका अनुसार अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको नाम पनि छैन, काम पनि छैन, युनिट पनि छैन, दैनिक कामकाजका लागि ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरी न्यौपानेलाई निमित्त दिइएको छ, तर यहाँ सबै अन्योल छ । 

स्थानीय सरकारका नाममा गत साउनदेखि प्रदेश र नगरपालिकालाई बजेटसहित कार्यक्रम गएपछि कार्यालयमा रहेका कर्मचारी कामविहीन भएका हुन् । कर्मचारीको अहिलेको काम यहाँको सामान सुरक्षा गर्ने, हाजिर गर्ने, नगरपालिकाले बोलाएका बखत प्राविधिक सहयोग गर्ने कामबाहेक कर्मचारीले केही गर्दैनन् । 

गत मङ्सिरसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब खुवाएको बताउँदै कर्मचारीले दैनिक प्रशासन चलाउन र पानी खानसमेत कार्यालयमा बजेट नभएको गुनासो गरेका छन् । आफूहरूले नै पैसा उठाएर यसको जोहो गर्ने गरेको कर्मचारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्