‘मलाई किनारा लगाइँदै छ’



काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्। जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन्। उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो।

गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए। ‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु। नोट अफ डिसेन्ट छँदै छ। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौं। छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन,’ नेपाललाई उधृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने। विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हँुदैन भनेर आफूले पटकपटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो।

नेपालले भने, ‘मेरो प्रश्न छ– विधानको व्यवस्था लागू गर्ने कि नगर्ने ? मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु। सचिवालयले गरेका निर्णयमा मैले राखेको असहमति कायमै छ।’ उनले प्रदेश इन्चार्ज बनाउँदा नै गण्डकी प्रदेश र प्रदेश ५ का इन्चार्जलाई मुख्यमन्त्री र पार्टी इन्चार्जको जिम्मेवारी दिएकोमा फरक मत राखेका थिए। नेकपाभित्र नेता नेपाललाई अहिले ‘प्रतिपक्षी’ नेताका रूपमा हेरिन्छ। सचिवालयको निर्णय अनुमोदनमा स्थायी समिति सदस्य वेदुराम भुसालले पनि फरक मत रहने बताएका थिए। भुसाल नेता नेपाल निकट मानिन्छन्।

नेपालले पार्टी कमिटीदेखि पार्टी निकट सामाजिक संघसंस्थामा समेत समानान्तर कमिटी बनाउने र आफूलाई किनरा लगाउने नीति लिएको भन्दै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए। उनले भने, ‘जिल्लाजिल्लामा पार्टी पनि समानान्तर बनाउँदै जाने काम भएको छ। सामाजिक संघसंस्था पनि प्रायः समानान्तर बनाउँदै लगिएको छ। समानान्तर कमिटीमार्फत मलाई बहिष्कार गरिँदै छ। यही हो पार्टी विधि ? यही हो परिपाटी ? ’

आलोचना गर्नेलाई पूर्वाग्रही ढंगले निषेध गर्ने परिपाटी चलेको भन्दै उनले त्यसलाई सुधार गर्न आग्रह गरे। ‘हामी आलोचना गर्नेलाई निषेध गरेर जान थालेका छौं। आलोचनाले पार्टी सप्रिन्छ’, नेपालले भने। सरकारले प्रभावकारी काम गरेको कुरा पार्टीलाई भन्दा जनतालाई गएर बुझाउन उनले आग्रह गरे।

‘सरकारले जुन काम गरेको छ, त्यो सबै मैले गरें भनेर पार्टी बैठकमा कन्भिन्स गरेर हँुदैन, जनता विश्वस्त छैनन्’, नेता नेपालले भने, ‘सरकारका काम कस्ता छन् मेरो क्षेत्रकै बाटो हेरे हुन्छ। प्रसूतिगृह जाने ठाउँमा तीनवटा खाल्टा छन्। एउटाले व्यथा लगाउँछ, अर्काेले चर्को व्यथा पार्छ र तेस्रो खाल्टाले बच्चा जन्माइदिन्छ। अनि अस्पताल लग्नै पर्दैन भनेर मान्छेले व्यंग्य कसेका छन्।’

एमसीसीमा स्पष्ट हुन आग्रह

वरिष्ठ नेता नेपालले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावका विषयमा सरकार प्रस्ट हुनुपर्ने बताए। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) र इन्डो प्यासेफिक स्ट्राटेजी (आईपीएस) लाई एउटै दाँजोमा राखेर हेर्न नुहने भन्दै नेपालले एमसीसीका विषय आईपीएसभित्रको हो होइन पहिले प्रस्ट पार्नुपर्ने बताए। ‘हामी धेरै कसैसँग पनि नटासिऔं, कसैसँग पनि नटाढिऔं,’ नेता नेपालले भने, ‘आईपीएसभन्दा बाहिर हो भने त्यसलाई प्रस्ट पारेर एमसीसी ग्रहण गरेर जानुपर्छ।’

उनले लिम्पियाधुरासम्मको भूमि नेपालकै भएको विषयमा महाकाली सन्धिकै बेला पार्टीले पुस्तक प्रकाशित गरेरै प्रमाण जुटाएको पनि बताए। वरिष्ठ नेता झलनाथ खनालले नेपाली जनताको आकांक्षा र राज्यस्रोतबीच अन्तर देखिएको भन्दै त्यो अहिलेको प्रधान अन्तरविरोध भएको बताए। ‘आजको नेपाली समाज पुँजीवादी हो। यहाँ दलाल पुँजीपति वर्गको बोलवाला छ। अब हाम्रो कार्यदिशा भनेको समाजवादी क्रान्तिअन्तर्गतकै पर्छन्। त्योअनुसार कार्यक्रम अगाडि बढाउनुपर्छ,’ खनालले भने। पार्टीभित्र गलत प्रवृत्ति हाबी हुन थालेको भन्दै खनालले विचारधारात्मक संघर्षबाटै गलत प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीमा विचार÷दृष्टिकोण प्रस्ट नहुँदा कमजोरी आइलागेको बताए। ‘पार्टीको कार्यदिशा के हो भन्नेमा अन्योल हुँदा समस्या आएको हो। विचारको क्षेत्रमा प्रस्ट भएर जानुपर्छ,’ पोखरेलले भने।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्म र महत्व बुझेमा मात्र सही विचार निर्माण गर्न सकिने बताए। उनले जनताको बहुदलीय जनवाद, नयाँ जनवाद भनेर होइन, यी पूरा भएपछि नयाँ ठाउँमा जाने भनेपछि पार्टी एकता भएकाले समाजवाद उन्मुख जनताको जनवादकै कार्यक्रममार्फत अगाडि बढ्नुपर्नेमा जोड गरे। श्रेष्ठले नेपालको राज्यसत्ता र समाजको चित्रण, लोकतन्त्रको मोडल, समृद्धि, समावादको मोडल र पार्टी कस्तो भन्नेबारे गम्भीर बहस गर्नुपर्ने भन्दै पाँचबुँदे छलफलका एजेन्डा पनि बैठकमा राखेका थिए।

गृहमन्त्री रामबहादुर थापाले मुख्य अन्तरविरोध दलाल पँुजीपति वर्गसँग भएको बताए।

नेता विष्णु रिमालले प्रधानमन्त्रीप्रति केही नेताहरुले असाध्यै पूर्वाग्रही सोच राखेर आलोचना गरेकोमा आक्रोश व्यक्त गरे।

बिहीबारको बैठकको सुरुमै नेता भीम रावलले राजपासँग भएको सम्झौताको विरोध गरेका थिए। पार्टी स्थायी समिति बैठक छलेर बालुवाटारमा सम्झौता गरिएको भन्दै रावलले विरोध जनाएका थिए। ‘पार्टी बैठक भइरहेका बेला कुनै जानकारी नदिई बालुवाटारमा राजपासँग सहमति कसरी गर्नुभयो भनेर सुरुमा मैले कुरा उठाएँ त्यसपछि माधव नेपाल, वामदेव र युवराज ज्ञवालीले पनि कुरा उठाउनुभयो’, रावलले भने।

अध्यक्ष दाहालले आफूले पनि बालुवाटार पुगेपछि मात्र सम्झौताका विषयमा जानकारी पाएको बताएका थिए। तर दाहालले अध्यक्षहरूले केही गर्ने हुन्न भन्ने यान्त्रिकताबाट पनि नहेर्न नेताहरुलाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए। ‘मलाई पनि थाहा थिएन, बालुवाटारमा प्रधानमन्त्रीले बोलाउनुभयो, राजपासँग यस्तो गर्ने भइयो भन्नुभयो, मलाई पनि बेठिक हुन्छ भन्ने लागेन,’ दाहाललाई उद्धृत गर्दै ती सहभागी नेताले भने, ‘यो विषयमा आवश्यक पर्छ छलफल गरौंला, तर अध्यक्षले केही पनि गर्ने हुन्न भन्ने यान्त्रिक पनि हुनुहुन्न।’ नेकपा बैठक शनिबार बस्नेछ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्