कुखुरा पालनले मकै आयात बढ्यो



काठमाडौं : कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दाना बनाउन आधाभन्दा बढी कच्चा पदार्थ मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले बाहिरबाट झिकाउनुपरेको हो।

 

कृषि विभागअन्तर्गत बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार कुखुरापालन गर्ने किसान ह्वात्तै बढे पनि त्यस अनुपातमा मकै उत्पादन वृद्धि नभएको वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले बताए। उनले भने, ‘किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गरेर पनि मकै उत्पादन बढाउनुपर्छ।’

 

नेपालको मुख्य तीन बालीमा धान र गहुँसँगै मकै पर्छन्। तराईदेखि भित्री मधेश र उच्च पहाडी क्षेत्रमा समेत मकैखेती हुँदै आएको छ। दिनदिनैको खानामा मकैको प्रयोग केही मात्रामा बढेको छ भने कुखुराका आहाराका लागि पनि बढी मात्रामा मकैको आवश्यकता पर्छ।

 

किसानलाई मकै खेतीमा आकर्षित गर्ने कार्यक्रम स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत लैजाने केन्द्रको योजना रहेको जानकारी दिँदै उनले भने, ‘थोरै जमीनमा पनि धेरै उत्पादन दिने जातका मकैको उत्पादन बढाउनु खाँचो छ।’ देशभरमा मकैको उत्पादन प्रतिहेक्टर तीन टन छ।

प्रतिक्रिया दिनुहोस्