वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो



काठमाडौं : बिहीबार बिहान ९ बजेर ३० मिनेट जाँदा सिन्धुपाल्चोकका सज्जन तामाङ वीर अस्पतालको टिकट काउन्टरबाट टोकन लिएर बसेका थिए ।

उनले टोकन लिएको ४५ मिनेटपछि टिकट काट्ने पालो आयो । टिकट काटिसकेपछि पेटसम्बन्धी परीक्षणका लागि ग्यास्ट्रो ओपीडीमा गएका तामाङले १५ मिनेटको फरकमा डाक्टरकहाँ परीक्षण गराए ।

डाक्टरले सल्लाह दिएअनुसार उनले अन्य परीक्षणसमेत गराए तर उनलाई डाक्टरले इन्डोस्कोपी गर्न सल्लाह दिए । इन्डोस्कोपी गर्न भने उनले १० दिनसम्म पालो कुर्नुपर्ने हुन्छ ।

यस्तै गत साता टिप्परले ठक्कर दिएर खुट्टा फ्याक्चर भई उपचार गराइरहेका सोनालाल साह निरन्तर फलोअपका लागि वीर अस्पताल पुगेका थिए । टिकट काटेर चिकित्सकलाई देखाउँदा १२ बजेको थियो ।

नियमित फलोअपपछि १ बजे अस्पताल बाहिरको कुर्सीमा श्रीमतीसँगै बसेका साह कबाडीको काम गर्छन् । कबाडीको काम गर्ने क्रममा उनलाई टिप्परले ठक्कर दिएपछि अस्पतालमा उपचार गराइरहेका छन् । भीडभाड भए पनि अस्पतालले दिने सेवाप्रति साह सन्तुष्ट छन् ।

बिहान सवा ९ बजे गोरखापत्रको टिम वीर अस्पताल पुग्दा विगतभन्दा भीडभाड कम देखिन्थ्यो । अहिले वीर अस्पतालमा पहिलेजस्तो तीन सय मिटर लामो लाइन बसेर टिकट काट्नुपर्ने व्यवस्थाको अन्त्य भएको छ ।

बैंकमा जसरी टोकनको व्यवस्था हुन्छ, अस्पतालमा पनि टोकन प्रणाली लागू भएपछि उभिएर लाइन बस्नुपर्ने झन्झटबाट भने बिरामी मुक्त भएका छन् ।

टिकटमा टोकन प्रणालीले गर्दा टोकन लिएपछि निश्चित समयका लागि जहाँ गएर आए पनि पालो आउने भएकाले यो सुविधाले बिरामी हर्षित देखिन्थे । वीर अस्पतालमा सामान्य टोकन, ज्येष्ठ नागरिक तथा स्टाफ टोकन र अपाङ्गता तथा दृष्टिविहीन टोकन गरी तीन भागमा विभाजन गरिएको छ । लगभग केही मिनेट पर्खेपछि अपाङ्ग र ज्येष्ठ नागरिकको पालो आइहाल्छ ।

बिरामीले टिकट काटिसकेपछि डाक्टरकहाँ उपचार गराउन पनि पालो कुर्नुपर्छ । झन्डै ३० मिनेटदेखि एक घण्टा कुरेपछि बिरामीले डाक्टरसँग स्वास्थ्य परीक्षण गर्न सक्नेछन् । डाक्टरको प्रेस्किप्सनअनुसार ल्याब, रेडियोलोजिस्ट सेवा, एक्सरे लगायतका सेवा लिन फेरि पालो कुर्नुपर्ने हुन्छ ।

सिटिस्कान, एमआरआई, भिडियो एक्स–रेजस्ता सेवा लिन बिरामीले तीन दिनदेखि १० दिनसम्म कुर्नुपर्दछ । अन्य दिनको तुलनामा बिहीबार त्यति भीडभाड नदेखिएको वीरमा शुक्रबार, आइतबार र सार्वजनिक बिदाको भोलिपल्ट भने थामिनसक्नु भीडभाड हुने गरेको छ ।

बिरामीलाई विगतका वर्षको तुलनामा भने केही सहज देखिन्छ तर वीर अस्पताल नेपालकै सबैभन्दा पुरानो, ठूलो र ७७ वटै जिल्लाबाट उपचारका लागि आउने भएकाले बिरामीले निजी अस्पतालको भन्दा कठिन अवस्था झेल्नुपर्ने हुन्छ ।

वीरको आकस्मिक कक्षमा पुग्दा त्यहाँ कुनै पनि बेड खाली थिएन । आकस्मिक बेडमध्ये ३२ वटैमा बिरामी भरिभराउ देखिन्थे । मेडिकल अफिसर र पारामेडिक्सहरू बिरामीको उपचारमा व्यस्त देखिन्थे ।

कुनै बेडमा दुई जनासम्म बिरामीलाई एकै स्थानमा राखेर उपचार गरिएको थियो । वीर अस्पतालको आकस्मिक कक्षमा एउटा बेडमा दुई जना मात्र होइन, कहिलेकाहीँ र रातिको समयमा झन् तीनदेखि पाँच जनासम्म बिरामी एउटै बेडमा राखेर उपचार गराउनुपरेको छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्