रेशम शपथग्रहण : राजपा पर्साले बाँड्यो लड्डु 



वीरगन्ज : कैलाली–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरी शपथग्रहण गरेकोमा राजपा नेपाल पर्साले बिहीबार खुसियाली मनाएको छ ।

राजपा पर्साका नेताकार्यकर्ताले वीरगन्जको घन्टाघरचोकमा लड्डु बाँडेर एकआपसमा खुसियाली साटासाट गरे । त्यसअवसरमा उनीहरूले घन्टाघरमै दीप प्रज्ज्वलनसमेत गरे । 

घन्टाघरचोक भएर आवतजावत गर्नेलाई निकै उत्साह र उमंगका साथ राजपा नेताकार्यकर्ताले लड्डु बाँडेका थिए । दीप प्रज्ज्वलन कायक्रममा राजपाका महासचिव राजेशमान सिंहले चौधरीमाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्नुपर्ने माग गरे । 

चौधरीलाई गराइएको शपथग्रहण स्वागतयोग्य रहेको भन्दै उनले चौधरीमाथि लागेको मुद्दा संसद्बाटै खारेजी हुनुपर्ने बताए । ‘झुटा मुद्दा खारेज नगरेसम्म राजपा आन्दोलनमै रहन्छ, उनले भने । चौधरीले गरेको शथपग्रहणसँगै मधेसको जित भएको र जनमतको सम्मान भएको महासचिव सिँहको भनाइ थियो ।

महासचिव सिँहले टीकापुर घटनामा संलग्न नभए पनि राज्यले चौधरीलाई जबरजस्ती फसाउने षड्यन्त्र गरेको बताए । ‘ढिलै भए पनि सरकारलाई सद्बुद्धि आएको छ,’ उनले भने, ‘हामीलाई पूरै विश्वास छ कि न्यायलयबाट पनि चौधरीले न्याय पाउनुहुनेछ ।’

कार्यक्रममा राजपा सहमहासचिव निजामुद्दीन समानी, राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुधन चौरसिया, विद्यार्थी नेता अमित यादव, जिल्लाका युवा अध्यक्ष रोशन पटेल, युवा नेता अयुब मियाँ, शेख मईम, भुषाल चौरसियालगायतको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस्