काठमाडौंका प्रहरी कार्यालयमा अब निःशुल्क वाइफाई



काठमाडौं : नेपाल प्रहरीले काठमाडौंमा रहेका कार्यालयमा निःशुल्क वाइफाई सेवा सुरु गर्ने भएको छ । काठमाडौं परिसरमातहतका १४ प्रहरी वृत्त र ६ वटा प्रभागमा सेवाग्राहीले निःशुल्क वाइफाई सेवा लिन सक्नेछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार इन्टरनेट सेवाप्रदायक सुबिसुसँगको सहकार्यमा परिसर कार्यालयसहित मातहतका २० प्रहरी कार्यालयमा निःशुल्क वाइफाई सेवा सुरु गर्न लागिएको हो ।

त्यसबाहेक महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पनि सेवाग्राहीले निःशुल्क वाइफाई सेवा लिन सक्नेछन् । काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले पहिलो चरणमा वर्ष दिनसम्म निःशुल्क वाइफाई सेवा प्रवाहका लागि सुबिसुसँग सम्झौता भएको जानकारी दिए । एक वर्षपछि यो सुविधा नवीकरण गर्दै जाने प्रहरीले जनाएको छ ।

प्रत्येक प्रहरी कार्यालयमा सुविधासम्पन्न सहायता कक्ष 

काठमाडौं प्रहरी परिसरमातहतका सम्पूर्ण प्रहरी कार्यालयमा अब सुविधासम्पन्न नागरिक सहायता कक्ष बनाइनेछन् । सेवाग्राहीको सहयोगका लागि कक्षमा चौबीसै घन्टा प्रहरी खटिनेछन् । सेवाग्राहीले सोही कक्षमा बसेर वाइफाई चलाउन र जाहेरी फारम भर्न सक्नेछन् ।

सेवाग्राही बस्न कक्षमै कुर्सीको व्यवस्था हुनेछ । चियादेखि खानेपानीको सुविधा सेवाग्राहीले सोही कक्षमा उपभोग गर्न सक्नेछन् । कक्षमा चौबीसै घन्टा टेलिभिजन सञ्चालन हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्