टीकापुर घटनाका पीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्ने



धनगढी: कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई बिहीबार शपथ गराइएपछि टीकापुर घटनाका पीडितले असन्तुष्टि जनाएका छन्। टीकापुर घटनामा संलग्न भएको अभियोगमा चौधरीविरुद्ध चलाइएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा शपथ गराएर पीडितको उपहास र कानुन उल्लंघन गरिएको पीडित बताउँछन् ।

 

‘कानुन बनाउने थलोले नै कानुनको उल्लंघन गरेर हामीमाथि अन्याय गरेको छ’, टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका ६६ वर्षीय बाजे जंगबहादुरले भने, ‘अदालतबाट मुद्दा किनारा लागेपछि शपथ गराएको भए हाम्रो भन्नु केही हुन्थेन। सर्वसाधारणलाई पेट्रोल छर्केर, लखेटीलेखेटी भालाले घोचेर मारेको घटनाका अभियुक्त चौधरीलाई मुद्दाका फैसला नहुँदै शपथ गराएपछि अब किन कानुन चाहियो ? भोलि अरूले कसैलाई मारेमा किन कानुन लाग्ने ?’

 

चुनाव जित्दैमा मान्छे मारेको अभियोग लागेकालाई छुट दिइनु न्यायसंगत नहुने उनको भनाइ छ। कानुनविद्सँग छलफल गरेर न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म गुहार्ने उनले बताए। ‘कानुनविद्सँग छलफल गरेर न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जानुपरे पनि जान्छौं’, उनले भने।

 

टेकबहादुरकी आमा यशोदाले मान्छे मार्नेलाई छुट दिने र अन्यायमा परेकालाई न्याय नदिनु गलत भएको बताइन्। ‘मान्छे मार्नेलाई छोडिदिने र हामी अन्यायमा परेकाले न्याय नपाउने कस्तो कानुन हो यो ?’ उनको प्रश्न छ। उनले देशमा न्याय मर्दै गरेको पनि बताइन्। ‘दोषीलाई सजाय हुनुपर्छ भन्ने हाम्रो माग हो। तर यहाँ ठिक विपरीत हुने गरेको छ’, उनले भनिन्। २०७२ भदौ ७ गते टीकापुरस्थित घरको आँगनमा खेलिरहेका बेला चौधरीलगायतको अगुवाइमा सडकमा उत्रिएकाले प्रदर्शनकारीतर्फबाट चलाइएको गोली लागेर डेढ वर्षीय टेकबहादुरको ज्यान गएको थियो।

 

यसैगरी टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदाले पनि अभियुक्त चौधरीको मुद्दा अदालतले किनारा नलगाएकै अवस्थामा शपथ गराइएकोमा चिन्ता व्यक्त गरिन्। शपथ गराउने निर्णयविरुद्ध उनले सर्वोच्वमा रिट दायर गर्ने पनि बताइन्।

 

‘अदालतको मुद्दा किनारा नलाग्दै शपथ गराइनुले हामी पीडितमाथि झन् अन्याय भएको छ’, उनले भनिन्, ‘भोलि नै सर्वोच्वमा रिट हाल्छौं।’ अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै अन्तर्राष्ट्रिय अदालत जान सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘न्यायका लागि अन्तिमसम्म देशभित्रै लडिरहन्छौं’, उनले भनिन्, ‘केही नलागे अन्तर्राष्ट्रिय अदालतमा पनि जान्छौं।’

 

कैलाली र कञ्चनपुरसहितको थरुहट राज्य हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका थरुहट पक्षधर प्रदर्शनकारीले २०७२ भदौ ७ गते टीकापुर नगर प्रवेश गर्ने क्रममा पशु हाटबजार नजिक प्रहरीमाथि आक्रमण गर्दा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी मारिएका थिए । त्यस्तै आँगनमा खेलिरहेका डेढ वर्षीय टेकबहादुर पनि मारिएका थिए ।

 

घटनाको दिनदेखि प्रहरीको फरार सूचीमा रहेका चौधरी अघिल्लो वर्षको मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए। चुनाव जितेको दुई महिनापछि उनी फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसै दिन न्यायाधीश पर्शुराम भट्टराईको इजलासले उनलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो। डिल्लीबजार कारागारमा पुर्पक्ष थुनामा रहेका चौधरीलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा लगेर शपथ गराइएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्