यात्रुलाई ऋणभार, कर्मचारीलाई बोनस



काठमाडौं : हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको नाफा वर्षेनी बढिरहेको छ। यो संस्थाको आव २०६८/६९ देखि वर्षेनी नाफा बढिरहेको हो । नाफामा जान सुरु गरेको उक्त आवदेखि वर्षेनी कर्मचारीलाई बोनस बाँड्ने गरी बजेट छुट्याउँदै आएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षमा कर्मचारीलाई बोनसवापत ८९ करोड ९२ लाख रुपैयाँ दिने गरी बजेट विनियोजन गरेको छ। २०७४/७५ मा प्रक्षेपण गरेको भन्दा ७४ करोड १६ लाख रुपैयाँले बढाएर ६ अर्ब २३ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । 

गत आवमा ५ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमात्रै आय अनुमा न गरिएको थियो । २०७५/७६ मा पनि यसले ५ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । सरकारबाट दुर्गम क्षेत्रका विमानस्थल सहितमा खर्च गर्ने गरी वर्षेनी ऋण तथा शेयर लगानी गर्ने र अनुदान दिने काम पनि रोकिएको छैन ।

पछिल्लो समय निरन्तर नाफा कमाइरहेको र कर्मचारीलाई बोनस वितरण गर्ने गरी बजेट व्यवस्था गरिरहेको यो संस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुधार, विकास तथा यसमा दातृ निकायबाट लिएको ऋण तिर्न भने यात्रुबाट अतिरिक्त शुल्क लिँदै आएको छ ।

प्राधिकरणका कर्मचारीले वर्षेनी नाफाबाट बोनस खाने तर यही निकायले सञ्चालन गर्ने विमानस्थल निर्माणमा लागेको ऋण तिर्न भने यात्रुबाट शुल्क लिने गरेको छ ।

नियमित आम्दानीको स्रोत भएको र वर्षेनी नाफामा गइरहेको यो संस्थाले विगत साढे चार वर्षदेखि लिँदै आएको पाँच वर्षे ‘विमानस्थल विकास शुल्क’ को अवधि आगामी असारदेखि सकिँदैछ ।

प्रतियात्रु एक हजार रुपैयाँ अतिरिक्त शुल्कका रूपमा असुल गरिँदै आएको यस्तो शुल्कलाई प्राधिकरणले आगामी साउनदेखि फेरि अर्को पाँच वर्षका लागि लिने भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्