आयोजनाको अर्बौँ भुक्तानी बाँकी



काठमाडौं : संघीय सरकारले प्रदेशमा हस्तान्तरण गरेका विकास आयोजनाको भुक्तानी हुन सकेको छैन। निर्माण व्यवसायीहरुले गएको साउन महिनादेखि भुक्तानी पाएका छैनन्। संघीय सरकारले राष्ट्रिय गौरवका र राष्ट्रियस्तर तथा रणनीतिकबाहेकका आयोजना तल्लो तहमा हस्तान्तरण भइसकेकाले भुक्तानी दिन नसकिने बताएको छ ।

 

प्रदेश सरकारले भने संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेको र विवरण प्रदेश सरकारसँग उपलब्ध भइनसकेको भन्दै जिम्मेवारीबाट पन्छिने गरेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका आयोजनामा यस्तो समस्या बढी देखिएको छ। ‘विकास निर्माणका धेरैजसो काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हुन्छ। प्रदेशमा हस्तान्तरण भएका सडक आयोजनाको लागतमात्रै २६ अर्ब रुपैयाँ बराबर छ,’ उनले भने, ‘भुक्तानी नपाएपछि निर्माण व्यावसायीलाई चालु पुँजी (वर्किङ क्यापिटल)को अभाव भएको छ।’

 

निर्माणका काम ठप्प हुन थालेपछि फलाम/स्टिलका डन्डी तथा सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य घटेको छ। निर्माण सामग्री उत्पादक तथा बिक्रेता पनि कारोबारमा नगद प्रवाह (क्यास फ्लो) कम हुन थालेको बताउँछन्।

 

निर्माण व्यवसायीको ठूलो बक्यौता बाँकी भएपछि उनीहरूले भुक्तानीको व्यवस्था मिलाइदिन संघीय सरकारसँग आग्रह गरिरहेका छन्। संघका अन्य मन्त्रालयले भने आफू मातहतका निकायबाट भएको ठेक्का सम्झौताको भुक्तानी संघबाटै दिन सकिने व्यवस्था मिलाएका छन्।

 

तर भौतिक पूर्वाधार मन्त्रालयले भने सबै आयोजना प्रदेशमा हस्तान्तरण गरिसकेकाले निर्माण व्यावसायीको ठूलो बक्यौता बाँकी रहेको हो। सिंहले भने, ‘हामीले निर्माणका लागि ठेक्का सम्झौता भइसकेका आयोजनाको हकमा भने भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेका छौं।’

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने हस्तान्तरण भइसकेका आयोजनाको बजेट प्रदेशमा पठाइसकिएकाले संघीय सरकारले भुक्तानी नदिने बताए। ‘यस आर्थिक वर्षका लागि ठेक्का सम्झौता भएर काम भइरहेका आयोजनाको भुक्तानीका लागि सात अर्ब रुपैयाँ प्रदेश सरकारमा हस्तान्तरण भइसकेको छ,’ उनले भने।

 

निर्माण व्यावसायीले भने बक्यौता रकम नउठेसम्म काम गर्न नसकिने र यसले सरकारको विकास निर्माणका काम प्रभावित हुने बताए। संघीय सरकारले ६५ अर्ब रुपैयाँ लागतका ठेक्का लागिसकेका आयोजना प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने भनी हस्तान्तरण गरिसकेको जनाएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्