संविधान संशोधनको मागसहित फोरमले प्रधानमन्त्रीलाई बुझायो ११ बुंदे स्मरणपत्र



काठमाडौं: सत्तारुढ संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुंदे स्मरणपत्र बुझाएको छ । उपयुक्त समयमा संविधान संशोधन गर्ने बाचा गरेका प्रधानमन्त्री ओलीलाई संघीय फोरमले स्मरण गराएको हो ।

 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित फोरमका नेताहरुले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसदको जारी हिउँदे अधिवेशनबाटै संविधान संशोधन गर्न माग गरेका छन् । भेटमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु उपस्थित थिए ।

 

महासचिव रामसहाय प्रसाद यादवद्वारा हस्ताक्षरित स्मरणपत्रमा सरकारलाई सहयोग गर्न संयुक्त कार्यदल बनाउनुपर्ने र संविधान संशोधनको गृहकार्य सुरु गर्नुपर्ने उल्लेख छ । आवश्यक गृहकार्य गरी संसदको यसैसत्रमा संविधान संशोधन गर्नुपर्ने फोरमको माग छ ।

 

साथै प्रदेश सरकार सबल बनाउनुपर्ने, कर्णाली प्रदेश २ को विकासका लागि बिशेष प्याकेज बनाउनुपर्ने, मधेस तथा थरुहट आन्दोलनकामा लागेको मुद्दा फिर्ता लिनुपर्ने माग पनि अघि सारेको छ । प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्