एनजिओलाई पैसा बाँड्न स्वास्थ्यमा चलखेल



काठमाडौं : परिवार नियोजन स्थायी बन्ध्याकरण कार्यक्रमको झन्डै आठ करोड बजेट एनजिओलाई बाँड्न चलखेल भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले नियमविपरीत गैरसरकारी संस्थालाई बन्ध्याकरणका नाममा रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ ।

घुम्ती सेवाको स्थायी बन्ध्याकरणसहित शिविर सञ्चालनसम्बन्धी विज्ञता भएका संस्थाबाट र दरभाउ रेटपत्र लिई एनजिओलाई बजेट निकासा गर्नेगरी परिवार कल्याण महाशाखाले फाइल अघि बढाएको प्राप्त विवरणबाट प्रस्ट हुन्छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकस्तरीय छलफलबाट यस सेवामा विज्ञता भएका संस्थाबाट आशयपत्र अघि बढाउने सुझाव आएको भन्दै मंसिर १४ गते विभागमातहतको परिवार कल्याण महाशाखा प्रमुख डा. आरपी बिच्छाले अघि बढाएको फाइलमा केही एनजिओको निवेदनसमेत समावेश गरिएको पाइएको हो ।

७७ वटै जिल्लामा घुम्ती परिवार नियोजन शिविर सञ्चालन गर्ने नाममा नियमविपरीत सात करोड ७८ लाख रुपैयाँ रकम गैरसरकारी संस्थालाई दिने तयारी भएको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले बतायो ।

यसमा महाशाखा प्रमुख बिच्छाले मन्त्री उपेन्द्र यादवलाई प्रभावमा पारेर कार्यक्रम स्वीकृत गराएको स्रोतको भनाइ छ । तर स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूले भने नियमविपरीत एनजिओलाई पैसा वितरण गर्न नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।

उनीहरूले नियमविपरीत एनजिओमार्फत बजेट परिचालन गर्न नहुने अडान राखेपछि बिच्छाले कार्यक्रम स्वीकृतिका लागि मन्त्री यादवलाई प्रभावमा पारेको स्रोतले दाबी गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्