सिंगो सहरकै लालपुर्जा छैन



पाल्पा : व्यापारिक केन्द्रका रूपमा परिचित पाल्पाको रामपुर बजार लालपुर्जाविहीन छ । रामपुरमा विद्यालय र तत्कालीन गाउँपञ्चायतले दिएको एउटा कागजको भरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेका छन् । 

यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ । व्यापारिक सहर रामपुर नगरपालिका नै लालपुर्जाविहीन सहरका रूपमा चिनिन थालेको छ ।

पाल्पा रामपुरका ८ सय ५६ घरपरिवार लालपुर्जाको आसमा बसेको ३५ वर्ष बितिसकेको छ । पाल्पा रामपुरमा प्रत्येक निर्वाचनमा मुख्य लालपुर्जा बन्ने गरेको छ । 

०४६ सालपछि कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन सकेका छैनन् । चुनावका बेला चर्चा हुन्छ तर चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको स्थानीयको गुनासो छ ।

रामपुर नगरपालिका– ५, ६, ७ र ८ का बासिन्दा लालपुर्जाको पर्खाइमा छन् । ०३५ देखि ०३९ सालसम्म तत्कालीन गाउँ पञ्चायतले आन्तरिक आम्दानीका लागि, हालको रामपुर नगरपालिका–५ स्थित रामतुलसी मावि र वडा नम्बर ६ को दरैठाँटी माविले विद्यालय सञ्चालन गर्न बिक्री गरेका जग्गा लालपुर्जाविहीन हुन् । 

विद्यालयले बिक्री गरेका जग्गा सोही समयदेखि स्थानीयले भोगचलन गर्दै आएका छन् । ‘घरजग्गाको लालपुर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्यांकन हुन सकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन’, रामपुर नगरपालिका–५ बेझाडका सूर्यप्रसाद श्रेष्ठले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्