सेनाका राहदानीवाहक घोडा, हाडनातामा ‘नो ब्रिडिङ’



भरतपुर : नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ । ‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् ।

प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाको राहदानीसमेत छ । उनीहरूको तीनपुस्ते विवरण, जन्ममिति, बेलाबखत लगाइएका खोपलगायतको विवरणसमेत राखिएको छ ।

यहाँ उत्पादन गरिने घोडामा ब्रिडिङ गराउँदा नै हाडनाताको समेत ख्याल गर्ने गरिएको छ । एउटा घोडाको ‘ब्रिड’ अर्को घोडासँग उत्पादनका लागि मेल गराउँदा उसको बीउ (ब्रिड) को प्रोफाइल हेर्ने गरिएको हो । जसका कारण उनीहरूको हाडनाताभित्रको बीउ घोडा उत्पादनमा प्रयोग हुँदैन । 

उत्पादन केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी डा. एमपी शाहले प्रत्येक घोडाको हाडनाताको सम्बन्ध छुट्याइएको र एकै हाडनाताभित्र पर्ने घोडाको ब्रिडको प्रोफाइल हेरेर उत्पादनमा प्रयोग गर्ने गरिएको जनाए ।

‘प्रत्येक घोडाको विवरण राख्ने गरिएको छ, आमा, बुबा, हजुरबुबा, हजुरआमादेखि कम्तीमा तीनपुस्तासम्मको विवरण राखिन्छ, उत्पादनमा सो प्रोफाइल हेरेर ब्रिड क्रस गर्ने गरिएको छ, हाडनाताभित्र उत्पादन हुँदैन,’ प्राविधिक सेनानी शाहले भने । 

केन्द्रमा रहेका घोडाका आआफ्नै नाम छन् । विदेशबाट ल्याइएका घोडालाई विदेशी नाम नै दिइएको छ भने केन्द्रमा नै जन्मिएका घोडाको भने नेपाली नाम राखिएको छ ।

भारतबाट २०६९ वैशाखमा ल्याइएका बाबु शर्मा, लन्डन ब्वाई नामका घोडा केन्द्रका आकर्षण हुन् । यस्तै निभा, गण्डकीलगायतका नाम घोडालाई दिइएको छ । यस केन्द्रमा पर्चेनियन र नोराइकरलगायतका जातका घोडा छन् ।

नेपाली घोडालाई नाम राख्दा भने सकेसम्म उसको पुस्तौली इतिहास हेरेर वैज्ञानिक पद्धतिबाट अगाडिको अक्षरबाटै नाम राख्ने गरिएको छ । जसका कारण उत्पादनका बेला पनि ब्रिड छुट्याउन सहज हुने गरेको छ ।

नेपाली सेनालाई चाहिने घोडा उत्पादन गर्ने लक्ष्यसहित १४ पुस २०४१ सालमा स्थापना भएको केन्द्रमा सुरुवाती समयमा भारत, पाकिस्तान, अस्ट्रेलियालगायतका देशबाट घोडा ल्याएर उत्पादन सुरु गरिएको सेनाको भनाइ छ ।

पछिल्ला दिनमा भने स्वदेशी ‘पोनी’ जातका घोडाबाट समेत उत्पादन थालिएको छ । तर, यो जातको घोडा विदेशी घोडाको तुलनामा सानो हुने गरेको पाइन्छ । आजकाे राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्